मेगा बैंकको सीईओलाई उत्कृष्ट महिला व्यवस्थापक अवार्ड



मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित हुनु भएको छ। नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सीईओ खुञ्जेलीलाई सो सम्मान प्रदान गरेको हो। उपराष्ट्रपति नन्दकिशोर पुनले सीईओ खुञ्जेलीलाई अवार्ड प्रदान गर्नुभएको थियो।

‘क’ वर्गको वाणिज्य बैंकको सीईओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुनुहुन्छ। उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएपछि खुशी व्यक्त गर्दै सीईओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालालाई धन्यवाद एवम् आभार व्यक्त गर्नुभएको छ।

यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाको विश्वासको रुपमा लिएको उहाôले बताउनुभयो। खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ।

९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गर्नुभएकी खुञ्जेलीले २०७५ वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो वर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ।

सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर शुरु गर्नु भएकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ।

प्रतिक्रिया दिनुहोस्