सरकार र निजी क्षेत्रबीच सहकार्य गर्न राष्ट्रपतिको जोड



काठमाडौं, (नेस)।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यावसायिक क्षेत्रको उत्साह बढाएर देशको आर्थिक विकास तथा समृद्धि हासिल हुन सक्ने बताउनुभएको छ।

राष्ट्रपति निवास मा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गतिलिन सक्ने बताउनुभएको हो।

निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधैं सद्भाव रहँदै आएको पनि राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो। समष्टिगत आर्थिक विकासका एजेन्डा, रोजगारी सिर्जना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा आफ्नो चासो र निरन्तर पहल रहने पनि राष्ट्रपति भण्डारीले विश्वास दिलाउनुभयो।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताउनुभयो।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल सरकारसँग नेपाल उद्योग परिसंघले सघन सहकार्य गर्दै आएको पनि अध्यक्ष मोरले राष्ट्रपतिलाई जानकारी गराउनुभयो।

सरकार र व्यवसायीबीचको विश्वासको वातावरण बनाउनपर्ने र वातावरण बन्दा आर्थिक विकासमा थप मद्दत पुग्न जानेतर्फ अध्यक्ष मोरले राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो।

परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न साझेदारसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलनका बारेमा पनि जानकारी गराएको थियो।

प्रतिक्रिया दिनुहोस्