बैंकास्योरेन्स पुनरावलोकन गर्दै राष्ट्र बैंक



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्सको पुनरावलोकन गर्ने तयारी गरेको छ। बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकास्योरेन्सको पुनरावलोकनका लागि छलफल भइरहेको बताउनुभएको हो। राजधानीमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’को उद्घाटन सत्रमा बोल्दै उहाँले बैंकास्योरेन्सको व्यवस्थामा पुनरावलोकन गरी पुनः सञ्चालनमा ल्याउने बताउनुभयो। राष्ट्र बैंकले बैंकास्योरेन्स रोकेपछि बीमा कम्पनीहरू असन्तुष्ट बनेको समयमा डेपुटी गभर्नर सापकोटाले बैंकास्योरेन्स पुनः सञ्चालनमा ल्याउने गरी राष्ट्र बैंकमा छलफल चलिरहेको जानकारी गराउनुभयो।

‘बीमा कम्पनीहरूबाट गुनासो आइरहेको छ। त्यसैले हामीले बैंकास्योरेन्सको विषयलाई पुनरावलोकन गर्ने सन्दर्भमा छलफल भइरहेको छ। बैंकास्योरेन्सको व्यवस्थालाई नियमन निकायको दायरामा ल्याएर बीमा कम्पनीहरूलाई काम गर्न दिनुपर्छ भन्ने छलफल भइरहेको छ।’

राष्ट्र बैंकले बैंकास्योरेन्सबारे छलफल चलिरहे पनि कहिलेदेखि यसबारे नयाँ व्यवस्था गरिने भन्ने विषय भने टुंगिनसकेको जानकारी गराउनुभयो। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा वा आगामी मौद्रिक नीतिले बैंकास्योरेन्स सम्बन्धी व्यवस्थालाई संशोधन गरी लागू गरिने उहाँले बताउनुभयो। बैंकास्योरेन्सको नाममा विकृति बढेको गुनासो आएपछि केन्द्रीय बैंकले बैंकास्योरेन्स रोक्नुपरेको उहाँको भनाइ छ।

बैंकका कर्मचारीहरूले इन्स्योरेन्सको कमिसनको लोभमा अफिसको काम छोडेर इन्स्योरेन्समात्रै गर्न थालेको उहाँले आरोप लगाउनुभयो। बैंकमा आएका सबै ग्राहकहरूलाई बीमा पोलिसी खरिद गर्न बाध्य पारिएको भन्दै इन्स्योरेन्सबाट मासिक डेढ दुई लाख आम्दानी हुने भएपछि बैंकास्योरेन्सको नाममा बेतिथि बढेको उहाँको बुझाइ छ।

सबै स्थानीय तहका बीमा कम्पनीहरू नपुगेको अवस्थामा बैंकास्योरेन्सको व्यवस्थाले बीमा क्षेत्रको विस्तारमा टेवा पुग्ने समेत उहाँको विश्वास छ। बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरूलाई बीमा टार्गेट दिएको भएर राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीतिमार्फत बैंकास्योरेन्स बन्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्