तीन स्टिल उत्पादक कम्पनीमाथि कारबाही



काठमाडौं (नेस)।

नेपाल गुणस्तर तथा नापतौल विभागले तीन वटा स्टिल उत्पादक कम्पनीलाई गुणस्तरको मापदण्ड पूरा नगरेको भन्दै कारबाही गरेको छ। विभागले गोदावरी स्टिल रौतहट, गोयन्का स्टिल रुपन्देही र अशोक स्टिल बारालाई गुणस्तर पूरा नगरेको भन्दै कारबाही गरेको हो।

विभागले अशोक स्टिललाई टीएमटी बार १२ एमएम साइजका स्टिलको मापदण्ड नपुगेको भन्दै उक्त साइजका सम्पूर्ण उत्पादनको बिक्रीमा रोक लगाई बजारबाट फिर्ता ल्याउन र स्पष्टिकरण माग गरेको छ।

विभागले इलोङगेसन कम्तीमा १२ प्रतिशत हुनुपर्नेमा ११ दशमलव ६७ प्रतिशतमात्रै भएको उल्लेख गर्दै बेन्ड टेस्ट पनि गुणस्तरको १९ दशमलव १ अनुरुप नभएको बताएको छ।

विभागले गोदावरी स्टिलले टीएमटी बार ८ एमएम साइजको स्टिल ५०० ए/एमएम २ को गुणस्तर हुनुपर्नेमा ४६१ मात्रै उत्पादन गरेकाले इजाजत पत्र स्थगन गरेको छ। साथै गोयन्का स्टिल्सले पनि टीएमटी बार ८ एमएम साइजका स्टिल्सको बेन्ड टेस्ट १९ दशमलव १ अनुरुप नभएको भन्दै इजाजतपत्र स्थगन गरेको हो।

विभागले नेपाल गुणस्तर चिन्ह ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ (क) अनुसार कारबाही गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्