क्यान्सर पीडितलाई साढे सात लाख सहयोग



मनिषा केसी, रुकुम ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका –७ मग्मा निवासी क्यान्सर रोगका विरामी शशिराम खत्रीलाई स्थानीयको अगुवाइमा साढे सात लाख रकम रुपियाँ सहयोग गरिएको छ । स्थानीय बुद्धिजीवी चन्द्रप्रकाश खनालको अगुवाइमा देश विदेशमा गरिएको आर्थिक संकलन अभियान अन्तर्गत सो रकम सहयोग गरिएको हो ।

गत दशैं यता मात्रै पाँच लाख ४४ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ भने त्यसअघि स्थानीयवासीले दुईलाख ११ हजार छ सय ५० रुपैयाँ सहयोग संकलन गरेका थिए । यो सँगै खत्रीको उपचारका लागि सात लाख ५५ हजार छ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । यसैबीच मग्गामा एक कार्यक्रमका बीच बिदेशमा रहेका नेपालीहरुले पठाएको सहयोग हस्तान्तरण गरिएको छ ।

दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख समेत रहनुभएका चन्द्रप्रकाश खनालको संयोजमा अमेरिका र कोरियामा रहेका नेपालीले सहयोग संकलन गरी पठाएको तीन लाख ९३ हजार पाँच सय रुपियाँ सहयोग हस्तान्तरण गरिएको हो ।

अमेरिकामा रहेका मग्मा निवासी गोपाल खनालले त्यहाँ रहेका नेपालीबाट सहयोग संकलन गरी दुई लाख ७० हजार पाँच सय र कोरियामा रहेका मग्मावासी भाइ दिनेश खनालले त्यहाँबाट नेपालीबाट सहयोग संकलन गरी एक लाख २३ हजार तीन सय रुपैयाँ पठाउनुभएको हो ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय मग्माका प्रअ हिरालाल खनालको अध्यक्षतामा र वडा अध्यक्ष नरबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, शिक्षक बुद्धिजीवी, प्रहरी र पत्रकारको रोहवरमा सो रकम विरामी खत्रीलाई प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि खत्रीले गाउँका बासिन्दा धनका गरीब भए पनि मनका धनि भएको उल्लेख गर्दै देशभित्र र बाहिर रहेका गाउँबासीले यति ठूलो रकम सहयोग गर्नु सामाजिक भावनाको उदाहरणीय काम भएको बताउनुभयो ।

पत्रकार नरेन्द्र केसीले समाजमा थोरै मान्छेसँग सामाजिक मन हुने भए पनि सामाजिक मन भएकाहरुले अभियान थालेर सबैलाई मानवीय कार्यमा सहभागी बनाउनु चुनौतिसहितको महत्वपूर्ण काम भएको बताउनुभयो ।

सहयोग संकलन अभियानका पहलकर्ता चन्द्रप्रकाश खनालले गत दशैंमा आफू गाउँ आएको बेलामा शशिराम खत्रीलाई क्यान्सर भएको र आर्थिक अभावमा उपचार नपाएको थाहा पाएपछि आफूले व्यक्तिगतरुपमा ५७ हजार हजार सहयोग गरेर अभियानको थालनी गरेको बताउनुभयो । अचानोलाई खुकुरीको पीर थाहा हुन्छ भनेजस्तै आफूले क्यान्सरकै कारण आमा गुमाएकाले स्मरण गर्दै उहाँले गाउँका कोही पनि उपचार नपाएर मर्न नपरोस् भनेर अभियान थालिएको बताउनुभयो । कार्यक्रममा सिद्धार्थ मावि मग्मा प्रअ नदीराम केसी, प्लस टू संयोजक इन्द्रबहादुर खत्री, प्रहरी चौकी मग्मा इञ्चार्ज किरण गुरुङ, आधारभूत विद्यालय नदुवाका प्रअ खिबहादुर खत्री लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्