माईखोलामा तीनवटा जलविद्युत् आयोजना निर्माण हुँदै



गणेश घिमिरे, इलाम।

जिल्लामा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ। हाल माईखोलामा तीनवटा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन्। इलाम नगरपालिका २ र ८ को माईखोलामा माइबेनी, सुपरमाई–ए र सुपरमाई क्यासकेड गरी तीन आयोजना निर्माणधीन अवस्थामा रहेका छन्।

उल्लेखित आयोजना सम्पन्न पश्चात २२ दशमलव १ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। ९ दशमलव ५ मेगावाटको माईबेनी जलविद्युत् आयोजनाको ६९ प्रतिशत काम सकिएको छ। हेडबक्स निर्माण, पाइप जडानको काम अन्तिम चरणमा छ भने सुरुङ निर्माण भइरहेको आयोजना प्रबन्धक राजेन्द्रराज भारतीले बताउनुभयो। आयोजना आउँदो भदौभित्र सक्ने आयोजनाको लक्ष्य छ।

सामलिङ पावर कम्पनीको सहयोगमा १ अर्ब ८६ करोड रुपियाँको लगानीमा आयोजना निर्माण भइरहेको छ। यस्तै तीन मेगावाटको सुपरमाई क्यासकेडको काम पनि तीव्र गतिमा भइरहेको छ। आगामी जेठभित्रमा आयोजनाको काम सक्ने लक्ष्य राखेको आयोजना प्रबन्धक मनोज भुर्तेलले बताउनुभयो।

७० प्रतिशतभन्दा बढी काम सकिएको आयोजनामा पावर हाउसको काम भइरहेको छ। ५५ करोड रुपियाँ लागतमा आयोजना निर्माणाधीन अवस्थामा छ। इलाम नगरपालिका–२, सुम्बेकको माईखोलामै ९ दशमलव ६ मेगावाटको सुपरमाई–ए आयोजनाको काम भइरहेको छ।

सानिमा, एनसीसी र सेञ्चुरीलगायतका बैंकको एक अर्ब ७९ करोड रुपियाँ लागतमा निर्माणधीन अवस्थामा रहेको उक्त आयोजना आगामी वैशाखसम्ममा सक्ने आयोजना प्रबन्धक सन्तोष कार्कीले जानकारी दिनुभयो।

माईखोलामा यसअघि क्यासकेडसहितका चारवटा आयोजना सञ्चालनमा छ। गोदकस्थित सब–स्टेसनका अनुसार २९ मेगावाटको सानिमा, १८ मेगावटको पञ्चकन्या, ७ दशमलव ८ मेगावटको सुपरमाई र ७ दशमलव ५ मेगावट क्षमताको हिमाल दोलखा जलविद्युत् आयोजना सञ्चालनमा रहेको हो। माइखोलाको सन्दकपुर गाउँपालिकाको माबुदेखि माई नगरपालिकासम्म सात आयोजना(क्यासकेडसहित)ले विद्युत् उत्पादन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्