क्रसर खुलाउन व्यवसायीकोे आग्रह



शिक्षा पन्त, लमजुङ।

लमजुङ उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ लमजुङसंँग आबद्ध व्यवसायीले बेंसीशहर नगरपालिकासमक्ष क्रसर उद्योग खुलाउन अनुरोध गरेका छन्। २०७७ असार मसान्तसम्मलाई विशेष व्यवस्था गरी क्रसर सुचारु गरी निर्माण कार्यमा सहज बनाउन नगरपालिकालाई आग्रह गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो।

अन्य ठाउँबाट ढुंगा, गिट्टी, बालुवा नदिएको भन्दै व्यवसायीले क्रसर खुलाइदिन नगरपालिकासमक्ष आग्रह गरेका हुन्। अख्तियारले ‘अवैध’ क्रसर खुलाउनुपर्ने कारण माग गरेसँगै नगरपालिकाले पुस २७ गते यता क्रसर सञ्चालनमा रोक लगाएको थियो। निर्माण व्यवसायी संघ लमजुङका अध्यक्ष पूर्णचन्द्र पोख्रलेका अनुसार क्रसर बन्द हुँदा निर्माणधीन विकास संरचना साथै निजी घर निर्माण कार्य रोकिएको छ। निर्माण व्यवसायीले ठेक्कामा सम्झौता गरेको अवधिभित्र काम सम्पन्न गर्न सक्ने अवस्था नभएको पनि उहाँको भनाइ छ।

नगरप्रमुख गुमानसिंह अर्याललाई व्यवसायीले क्रसर खुलाउनेबारे ज्ञापनपत्र पनि बुझाएका छन्  । उद्योगलाई मापदण्ड पु¥याएर सञ्चालन गर्ने शर्तमा तत्कालका लागि क्रसर खुलाउनका लागि पहल गर्ने नगर प्रमुख अर्यालको भनाइ छ। गण्डकी प्रदेश सरकारको क्रसर उद्योग स्थापना र सञ्चालनसम्बन्धी मापदण्डमा पहाडी क्षेत्रमा नदी, खोलाको बर्षातको प्रवाह सीमा किनारबाट, हाइटेन्सन लाइनबाट ५०० मिटर बाहिर सञ्चालन गर्नुपर्ने उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले मापदण्ड नपुगेको भन्दै बेंसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा सञ्चालित लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सन प्रालि र दलालमा रहेको त्रिवेणी रोडा ढुंगा एन्ड ब्लक उद्योग बन्द गराएकोमा नगरपालिकाले खुलाएको थियो। सञ्चालन अधिकार स्थानीय तहमा भएकाले बन्द रहेको क्रसर उद्योग पनि खुलाउन सकिने उहाँको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस्