‘पाँच वर्षभित्र निजगढबाट व्यावसायिक उडान’



नेपाल समाचारपत्र, काठमाडौं।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको अर्जुन दृष्टि भएको बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित अन्तत्र्रिmयामा उहाँले आगामी पाँच वर्षभित्र कुनै पनि हालतमा व्यावसायिक उडान गर्ने गरी सो विमानस्थल निर्माण सम्पन्न गर्ने दाबी गर्नुभयो।

सरकारको ‘गेम चेन्जर’ आयोजना भएको बताउँदै उहाँले भन्नुभयो–‘विकासको दृष्टिले निजगढ विमानस्थल अर्जुनदृष्टि हो त्यसैले निजगढ विमानस्थलको विकल्प खोज्नु हुँदैन, कुनै पनि हालतमा बनाउनुपर्छ।’

उहाँले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक चाप रहेको बताउँदै चाप कम गर्नका लागि अन्य विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिनुभयो। केही समयपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालन आउने भए पनि चाप कम नहुने बताउँदै उहाँले जुनसुकै हालतमा निजगढ विमानस्थलको विकल्प नभएको जिकिर गर्नुभयो।

मन्त्री भट्टराईले आगामी पाँच वर्षभित्रमा नेपालले क्रान्तिकारी फड्को मार्ने बताउनुभयो। मुलुकको केही विमानस्थलको निर्माण सम्पन्न भइसक्ने र केहीको स्तरोन्नती हुने बताउँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आगामी पाँच वर्षपछि मुलुकमा वार्षिक १ करोड पर्यटक आउनेसमेत दाबी गर्नुभयो।

‘पाँच वर्षभित्रमा सबै विमानस्थल बन्ने र स्तरोन्नती हुने काम सकिन्छ, त्यसपछि मुलुकमा वार्षिक १ करोड पर्यटक आउँछन्’–उहाँको भनाइ छ। उहाँले विमानस्थलले अब सेवामात्रै नदिएर व्यवसाय पनि गरी नाफा कमाउनुपर्नेमा जोड दिनुभयो।

विमानस्थलको पूर्वाधारमा ८९ अर्ब खर्च

मुलुकभित्र रहेका विभिन्न विमानस्थलको पूर्वाधार निर्माण गर्न पछिल्ला २ वर्षमा ८९ अर्ब रुपियाँ खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले २ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा ५० अर्ब रुपियाँखर्च भएको र आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा ६ अर्ब रुपियाँ खर्च भएको जानकारी दिनुभयो।

उहाँका अनुसार पछिल्ला दुई वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रहणमा ३३ अर्ब रुपियाँ खर्च भएको छ भने आन्तरिक विमानस्थलको लागि जग्गा अधिग्रहणमा १ अर्ब रुपियाँ खर्च भएको छ।

अबको ५ वर्षमा हवाई पूर्वाधारको लागि ३ खर्ब ३५ अर्ब रुपियाँ आवश्यक पर्ने प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहणमा ५ अर्ब रुपियाँ आवश्यक पर्नेछ भने पूर्वाधार निर्माणमा २ खर्ब ५० अर्ब रुपियाँ लाग्नेछ। निर्देशक अधिकारीले भैरहवा, पोखरा र निजगढमा विमानस्थलका लागि जग्गा अधिग्रहणको काम लगभग सकिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्