मुद्रास्फिति दबाबमा



काठमाडौं, (नेस)।

चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा मुद्रास्फीति दबाबमा देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पछिल्लो पाँच महिनाको वित्तीय स्थितिबारे जानकारी दिँंदै यस्तो जानकारी दिनुभएको हो।

उहाँले पछिल्लो समयमा मुद्रास्फिति दबाब रहेको बताउँदै निक्षेप र कर्जा प्रवाह सन्तुलनमा रहेको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा औसत मुद्रास्फीति ६ दशमलव ३३ प्रतिशत रहेको छ।

बैंकका अनुसार पछिल्लो पाँच महिनामा शोधनान्तर खाता २३ अर्ब रुपियाँले बचतमा रहेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म निक्षेपको वृद्धिदर ४ प्रतिशत रहेको छ भने निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको वृद्धिदर ७ दशमलव ३ प्रतिशत रहेको छ।

गत आर्थिक वर्ष पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही समयमा उपभोक्ता मुद्रास्फीति २ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ३३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर ४ दशमलव १ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले निक्षेप वृद्धिदरमा २ दशमलव २ प्रतिशतको गिरावट आएको छ। चालू आवको पाँच महिनामा निक्षेप वृद्धिदर ४ प्रतिशत रहेको छ। यद्यपि, गत वर्षको सोही अवधिमा यस्तो दर ६ दशमलव २ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा यस वर्ष कर्जा वृद्धिदर पनि घटेको छ। गत आवको पाँच महिनामा ६ दशमलव २ प्रतिशत रहेको थियो। चालू आवको सोही समयमा यस्तो वृद्धिदर ७ दशमलव ३ प्रतिशत रहेको छ। |

चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति २३ अर्ब ३ करोड रुपियाँ बचतमा रहेको छ। गत आवको सोही अवधिमा यस्तो दर ८५ अर्ब ३ करोड घाटामा रहेको थियो। यसैगरी पछिल्लो पाँच महिनामा व्यापार घाटा ५ खर्ब ३३ अर्ब रुपियाँले घाटामा रहेको छ। अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ५ खर्ब ६९ अर्ब घाटामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्