नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर प्रत्याभूतिकर्ता लगानी कोष



नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपियाँबराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने साधारण शेयर धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ।

सो प्रत्याभुतिसम्बन्धी सम्झौता–पत्रमा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गर्नुभयो।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हालसम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ।

जलविद्युत, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनामा स्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनालाई आवश्यकपर्ने स्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्