सिभिल बैंकको धार्चे शाखाको उद्घाटन



sdr

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंकको धार्चे शाखा उद्घाटन गर्नुभएको छ।उक्त अवसरमा गभर्नर नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिनुभयो।

मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘ सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु।’

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी, गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलालगायतको उपस्थिति थियो।सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक आबद्ध छन्।

यस बैंकले ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ५० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ। धार्चे शाखाको स्थापनासँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपालभर कुल शाखा संख्या १०३ पुगेकोे छ।
यसैबीच सिभिल बैंकले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्यो। नेपाल राष्ट्र बैंकका गभर्नर नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्