झिनो सुधार भएको नेप्सेमा डेढ अर्बको कारोबार



नेपाल समाचारपत्र, काठमाडौं।

अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने २ दशमलव ४९ अंकले बढेको छ।यस दिन नेप्से परिसूचक बढेर १ हजार ३४९ दशमलव १३ अंक बिन्दुमा पुगेको छ। कुल १७७ वटा कम्पनीको ४७ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ६१ करोड १७ लाख रुपियाँमा किनबेच भएको छ। समग्र परिसूचक बढे पनि यस दिन कारोबारमा आएका १२ समूहमध्ये पाँच समूहमात्रै बढेका छन्।

जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूहको शेयर बढेको छ। सोमबार निर्जीवन बीमा समूह ५९ दशमलव २७ अंक, जलविद्युत् समूह ४८ दशमलव ४४ अंक, विकास बैंक समूह ३० दशमलव ५८ अंक, अन्य समूह शून्य दशमलव ४४ अंक र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ अंकले बढेको छ।

त्यस्तै जीवन बीमा समूह ४२ दशमलव ८ अंक, होटल समूह १७ दशमलव शून्य १ अंक, लघुवित्त ७ दशमलव ७५ अंक, बैंकिङ समूह ३ दशमलव ३६, उत्पादन समूह ३ दशमलव १३ अंक, व्यापार समूह २ दशमलव ३८ अंक र वित्त समूह शून्य दशमलव ७९ अंकले घटेको छ।

सोमबार सेन्सेटिभ परिसूचक पनि १ दशमलव १६ अंकले बढेर २८७ दशमलव ९१ अंकमा पुगेको छ। कारोबार रकमका आधारमा यस दिन नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६ करोड ५६ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

त्यस्तै ग्लोबल आइएमई बैंकको ५ करोड १ लाख, नेपाल इन्स्योरेन्को ४ करोड ९९ लाखले कारोबार भएको दिन ग्रामीण विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ९ दशमलव ३६ प्रतिशतले बढेको छ।

साथै नेसनल हाइड्रोपावर कम्पनीको ९ दशमलव २६, छ्याङ्दी हाइड्रोपावर ९ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्