सगरमाथा आरोहणको लक्ष्यमा पहिलो मकवानपुरे



न्युज अफ नेपाल, हेटौंडा ।

सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा चलिरहेको बेला एक मकवानपुरे युवाको जोश बढेको छ । आरोहण इतिहासको नयाँ कीर्तिमानसँगै ८ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् ।
नेपाल रेकर्ड कायम गर्दै यस वर्ष एक सय ५० जनाले सगरमाथा आरोहण गर्ने भएका छन् । जसमा मकवानपुरका रामकुमार चेपाङ पनि हुनुहुन्छ । मकवानपुरका सम्भवतः पहिला उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्घोष गर्नुभएको हो ।

बिकट कैलाश गाउँपालिका–७, डुम्रेका ३१ वर्षीय चेपाङ आफ्नो समुदायको पहिलो सगरमाथा आरोही बन्ने प्रयासमा हुनुहुन्छ । चेपाङ आफ्नो समुदायको मात्र नभएर मकवानपुरकै पहिलो सगरमाथा आरोही बन्ने प्रयासमा रहनुभएको हो । ५ वर्षदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएका चेपाङले जातीय पहिचानका लागि सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको बताउनुभयो ।

यसअघि मनास्लु, धौलागिरि, आमादब्लम, साइपाल, लाक्र्यु, गणेश, कुम्भकर्ण जस्ता हिमाल आरोहण गर्नुभएका उहाँले हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन प्रालिमार्फत् सगरमाथा आरोहणमा सहभागी हुन लागेका जनाउनुभएको छ ।

ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकोले आफ्नो रहर र अतिसीमान्तकृत चेपाङ समुदायको पहिचानका लागि भ्रमण वर्ष २०२० लाई लक्षित सगरमाथा आरोहणको योजना बनाइएको उहाँले बताउनुभयो । ‘सगरमाथाको चुचुरोमा पुगेर नेपाल चेपाङ संघको झण्डा फहराउने सपना देखेको छु, सबैको साथ र सहयोग पाए सपना पूरा हुनेछ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार ३ महिनाको यात्रामा लगभग ७० देखि ८० लाखसम्म खर्च हुन्छ । ‘तर, मेरो रहर र बाध्यता बुझ्दै हिमालयन गाइडले मलाई छुटसमेत गराएर २६ लाख सहयोग गरेको छ,’ उहाँले भन्नुभयो । चेपाङ हाल भ्रमण सफल बनाउन सहयोग जुटाउनेतर्फ व्यस्त हुनुहुन्छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सिजन चैतदेखि जेठसम्म उपयुक्त मानिन्छ ।

फागुन दोस्रो हप्तादेखि उहाँ आरोहणको तयारीमा लाग्ने हुनुभएको छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँले लुक्लाका लागि हवाइयात्रा गर्ने र लुक्ला पुगेसँगै खच्चडको सहायतामा उहाँको यात्रा सुरु हुनेछ ।

चेपाङ हिमालयन गाइड नामक पर्यटकलाई घुमाउने संस्थामा कार्यरत् हुनुहुन्छ । मकवानपुरमा उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ । चेपाङले आफ्नो आर्थिक स्थिति कमजोर भएका कारण यस कार्यका लागि आर्थिक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलिपर रहेको जनजाति चेपाङ हो । चेपाङहरु विकास र शिक्षामा पनि पछाडि परेका छन् । यिनीहरुको मुख्य बसोबास स्थलमा मकवानपुर पनि हो । चेपाङहरु तुलनात्मकरुपमा सोझा, सरल र इमान्दार हुन्छन् ।

मंगोलियन मुखाकृतिका यिनीहरु गहुँगोरो, थेप्चेनाक, ठूलो अनुहार, मझौला कद र फुर्तिलो शारीरिक बनावटका हुन्छन् । चेपाङहरु जंगलको छेऊछाउ बस्छन् ।

सामान्य खेतीपाती पशुपालन, चोया तथा काठको घरेलु सामान बनाएर उनीहरु गुजारा चलाउँछन् । चेपाङहरु मुख्य गरी दुईथरि कछारे र पुकुन्थली जात थरका पाइन्छन् । कछारेहरु आफूलाई सुनप्रजा भन्न मन पराउँछन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणना अनुसार चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ ।

प्रतिक्रिया दिनुहोस्