बेमौसमी सुन्तलाका लागि शीतभण्डार निर्माण गरिँदै



नेपाल समाचारपत्र, पर्वत।

स्वादिलो सुन्तला उत्पादनका लागि प्रसिद्ध उत्तरी पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेमा सुन्तला शीतभण्डारण गृह निर्माण भएको छ।फागुनसम्म सुन्तला बोटमै राखेर बिक्री गर्ने बाँसखर्कका कृषकले अझै राम्रो मूल्यमा सुन्तला बिक्री गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरेका हुन्। बजारमारे सुन्तला उत्पादक सहकारी संस्थाले ७८ लाख रुपियाँको लागतमा शीतभण्डार निर्माण गरेको हो।

७१ हजार २४० रुपियाँको लागतमा निर्माण भएको शीतभण्डार गृहमा १६ मेट्रिक्टन सुन्तला भण्डारण गर्न सकिने सहकारीका कोषाध्यक्ष रेवती खत्रीले बताउनुभयो। शीत भण्डार निर्माणका लागि गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले आर्थिक सहयोग गरेका छन्।

गण्डकी प्रदेश सरकारको ४८ लाख ६२ हजार, वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले एक लाख १५ हजार, सहकारीको ८ आठ लाख ५९ हजार, सदस्यको पाँच लाख ३४ हजार रुपियाँ लगानी भएको छ। १५ लाख रुपियाँबराबरको श्रमदान गरेका छन्।

शीतभण्डार निर्माणसंँगै बेमौसममा सुन्तला बिक्री गर्ने उद्देश्य राखिएको सहकारीका सचिव ख्यामबहादुर क्षेत्रीले बताउनुभयो। बाँसखर्क र मल्लाजमा सिँचाइ सुविधा भएपछि सुन्तला खेतीको बिस्तार भइरहको छ। अहिले पनि बोटबाटै १ सय २० रुपियाँ प्रतिकिलोका दरमा सुन्तला बिक्री भइरहेको छ।

‘बेमौसममा बिक्री गर्दा अझै राम्रो मूल्य पाउन सक्छौ भन्ने अपेक्षा छ।’ उहाँले भन्नुभयो–‘योभन्दा अझै धेरै क्षमताको कोल्डस्टोरको आवश्यकता रहेको छ।’शीतभण्डार गृह सञ्चालनका लागि चौबिसै घण्टा नियमित विद्युत् आवश्यकपर्ने भएकाले जेनेरेटरको लागि गाउँपालिकामा अनुरोध गरिएको सहकारीका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो।

यसपटक परीक्षणका लागि सुन्तला भण्डारण गर्ने र अर्को वर्षदेखि पूरै क्षमतामा भण्डारण गर्ने उहाँले बताउनुभयो। यस वर्ष दुई करोड ५० लाख रुपियाँ मूल्यबराबरको सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो।सुन्तला बगैचा व्यवस्थापन, सिँचाइ, शीतभण्डारमा नियमित विद्युत् आपुर्ति र महशुलमा छुट र सडक स्तरोन्नतिका लागि कृषकले माग गरेका थिए।

बाँसखर्कमा १६० घरधुरीले ८४ हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती गरिरहेका छन्। शीतभण्डार निर्माणपछि नियन्त्रित चिसो तापक्रममा भण्डारण गर्न सकिने भएको छ। सिजनमा मूल्य र बजार नपाउने समस्या छ। बेसिजनमा सहज रुपमा बजार र उचित मूल्य पाइने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अमृतप्रसाद ढकालले कृषकको आम्दानी वृद्धिको लागि सुन्तलाको उत्पादनलाई विविधिकरणमा जोड दिएको बताउनुभयो। बाँसखर्कमा अर्को शीतभण्डार गृह बनाउन र सुन्तला खेती विस्तारमा प्रदेश सरकारले सघाउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्