राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना



नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा सञ्चार प्रविधि कक्षाको स्थापना गरी कक्षामा आवश्यक सूचना प्रविधिसम्बन्धी सामग्री प्रदान गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धिका लागि स्थापना गरिएको सूचना तथा सञ्चार प्रविधि कक्षाले सहयोग पुर्याउने बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्युटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ। तर, वास्तवमा सञ्चार र सुचना प्रविधि कक्षा भनेको कम्प्युटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणालीमार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरञ्जन मुलक रुपमा ज्ञान दिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्