डोटीमा दिवा खाजाले बिद्यार्थी संङ्ख्या बढ्दै



विमल विष्ट, डोटी ।

डोटी जिल्लामा पछिल्लो समय बिद्यार्थीहरुको संङ्ख्या पहिलेको तुलनामा बृद्धि हुन थालेको छ । बिगतमा नियमित रुपमा बिद्यालय नआउने तथा आएका बिद्यार्थीपनि टिफिन समयमा भागेर घरजाने प्रबृतिपनि क्रमिक रुपमा अन्त हुँदै जान थालेको छ ।

जिल्लामा रहेका विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन शुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको संङ्ख्या एकाएक बढेको हो । जिल्ला स्थित खाद्य सुरक्षा परियोजनाले यहाँका नौ वटा स्थानीय तह मध्ये आठ वटा स्थानीय तहका ३४ वटा वडामा शिक्षाका लागि खाद्य कार्यक्रम अन्तरगत दिवा खाजा दिन थालेको छ ।

जिल्लाका नौ वटा स्थानीयतह मध्ये छनौटका आधारमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपलिका, बडीकेदार, पुर्वीचौकी, बोगटान फुड्सिल, आदर्श तथा केआइसिंह गाउँपालिका बिभिन्न वडामा रहेका सामुदायिक बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरिएको खाद्य सुरक्षा परियोजना डोटीका अधिकृत चेतबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिवा खाजा कार्यक्रमले बिद्यालयमा बिद्यार्थी संङ्ख्या बढेको छ भने स्वच्छ खाजाले कुपोषण दरमा पनि कमिल्याउन सहयोग गरेको छ ।” उहाँका अनुसार उक्त कार्यक्रम जिल्लाका कुल १६८ बिद्यालयमा लागु भएको छभने जस्को लागि कुल रु १ करोड ३७ लाख ७९ हजार ३२० रुपिया बजेट छुटयाइएको छ ।
बिद्यार्थीका लागि दिवा खाजामा दाल, भातको व्यवस्था गरिएको छ । उक्त दिवा खाजाका लागि कुल १७१.२७७ मेट्रिकटन खाद्यान्नको समेत व्यवस्था गरिएको खाद्य सुरक्षा परियोजनाका स्टोर किपर महेन्द्र शाहले जानकारी दिनुभयो । जिल्ला भरीमा कम्तिमापनि उक्त कार्यक्रम पाँच वर्ष सम्म सञ्चालन हुँने खाद्य सुरक्षा परियोजनाले डोटीले जनाएको छ ।

यसै सिलसिलामा उक्त कार्यक्रम लागु भएको जिल्लाको आदर्श गाउँपालिका–६ गरिचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा विद्यार्थीको संङ्ख्यामा निकै वृद्धि भएको शिक्षकहरुले जनाकारी दिनु भएको छ । उक्त विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन शुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको संङ्ख्या एकाएक बढेको हो ।

पहिले विद्यालय उमेर समूहका धेरै बालबालिका घरमा नै बस्ने, विद्यालयमा भर्ना भएका विद्यार्र्थीको पनि नियमित नहुने खालको समस्या रहेको भए पनि दिवा खाजा कार्यक्रम शुरु भएपछि बालबालिकाको नियमित भएका छन् ।

विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा आउन थालेको प्रधानाध्यापक बलबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले विद्यालय आउने उमेर समूहका विद्यार्थी खासै स्कुल आउँदैन थिए, आएका जति पनि नियमित बस्दैन थिए ।

अहिले विद्यालयमा दिवा खाजा शुरु भएपछि सबै उमेर समूहका विद्यार्थी नियमित आउन थालेका छन् ।’ दिवा खाजा शुरु भएपछि वडाभरिका कम्तीमा पनि ३०० जनाभन्दा बढी बालबालिका अहिले विद्यालयमा नियमित आउने गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिवा खाजाले विद्यालयमा विद्यार्थीको संङ्ख्या त बढ्यो तर विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कमी हुँदा पढाउन केही समस्या देखिएको छ ।’

विद्यालयको भौतिक संरचनासमेत पुरानो हुँदा समस्या देखिएको छ भने विद्यार्थीको अनुपातमा भौतिक संरचनाहरु व्यवस्थापन गर्न नसकिँदा कठिनाइ भएको अध्यक्ष बोहराले जानकारी दिनुभयो । कक्षा ५ सम्मको अध्यापन हुने उक्त विद्यालयमा जिल्ला शिक्षाको अनुदानमा एउटा दुईकोठे भवन रहेको छ भने विद्यालयमा रहेको एउटा मात्र पुरानो भवन पनि पूर्णरुपमा जीर्ण अवस्थामा रहेको छ ।

पानी पर्दा तथा हावाहुरी चल्दा भवन भत्किने डरले विद्यार्थीलाई घर पठाउनुपर्ने अवस्था आउने गरेको शिक्षकहरु बताउँछन् । दिवा खाजा संग संगै जिर्ण भएका बिद्यालयका भौतिक संरचनामा समेत सहयोग गरिदिन शिक्षकहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्