काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना ९७ प्रतिशत सम्पन्न

एडीबीको म्याद सकिएपछि सरकारले लियो जिम्मेवारी



मोतीराम तिमल्सिना, काभ्रे।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि एसियाली विकास बैंकसँग भएको सम्झौता सकिएपछि नेपाल सरकारले आयोजनालाई पुरा गर्ने गरी जिम्मा लिएको छ। नेपाल सरकारले आयोजना सम्पन्न गर्न चाहिने रकम उपलब्ध गराउने निर्णय गरेको छ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालगायत मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत बुटवल, विराटनगर, वीरगन्ज र धरान नगरपालिकामा समेत आयोजना सञ्चालन गर्न नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको सम्झौताको २०१९ डिसेम्बर ३१ मा सकिएको थियो।

शहरी विकास मन्त्री गोकुल बास्कोटाको उपस्थितिमा सम्पन्न तीन वटा नगरपालिकाका प्रमुख, सम्बन्धित मन्त्रालयका विभागीय पदाधिकारी सम्मिलित बैठकले उक्त आयोजना सम्पन्न गर्ने गरी कार्यतालिका तयार पारेको छ।

मन्त्री बास्कोटाले आयोजना सम्पन्न गर्ने जिम्मेवारी प्राप्त निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न अल्टिमेटम दिनुभएको छ। २०७६ चैत पहिलो हप्ताभित्र देवीस्थान क्षेत्रीय रिजर्भायर ट्याङकमा पानी खसाल्ने र अन्य बाँकी काम २०७७ जेठ १५ गते भित्र सम्पन्न गर्न एसियाली विकास बैंकसँग भएको सम्झौताको म्याद सकिए पछि आवश्यक पर्ने बजेट ३० करोड नेपाल सरकारको श्रोतबाट व्यहोरिने गरी २०७६ फागुन १५ गते भित्र रकम निकासा गर्ने मन्त्री बास्कोटाले बताउनुभयो।

२०७७ जेठको दोस्रो हप्ताभित्र काम सम्पन्न गरी असार मसान्त भित्रबाट घरघरमा खानेपानी पु¥याउन बनेपा, धुलिखेल र पनौती नगरपालिका दृढतापूर्वक क्रियाशील रहेको बोर्डका अध्यक्ष अशोक व्याञ्जुले जानकारी दिनुभयो।

काभ्रेपलान्चोक जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रका करिब एक लाख नागरिकलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार, एसियाली विकास बैंक र बनेपा–धुलिखेल–पनौती नगरपालिकाहरूको संयुक्त लागत सहभागितामा राष्ट्रिय प्राथमिकता प्राप्त काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना २०१३ जुन १२ देखि सञ्चालनमा आएको थियो।

आयोजनाबाट खानेपानीका इन्टेकहरू, रिजभ्र्वायर टैंकहरू, मुख्य प्रशारण पाइपलाइन र वितरण पाइललाइन विछ्याउने लगायतका ९७ प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ।दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सञ्चालित आयोजनाको क्षेत्र विस्तार गर्नुपरेको र समयसमयमा देखा परेको स्थानीय सामाजिक समस्याहरू निराकरण गर्दै जाँदा समयमै सम्पन्न गर्न ढिलाइ भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्