लगानी बहस हुँदै



नेपाल समाचारपत्र, पर्वत

पर्वत जिल्लामा नयाँ व्यावसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलोपटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ। पर्वत उद्योग बाणिज्य संघको आयोजनामा माघ १६ गते बिहीबार लगानी बहस कार्यक्रम आयोजना गरिएको हो।

पछिल्लो समयमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रको खोजी र लगानीको सुनिश्चिता गर्न बहस कार्यक्रम आयोजना गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो। पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, तथा कृषिजन्य उद्योग तथा जलविद्युत्का क्षेत्रमा नयाँ लगानी भित्र्याउने उद्देश्य राखिएको छ।

लगानी बहस कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, पूर्वअध्यक्षहरू बिनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भाग लिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहनुभएका पर्वत उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो।

बहस कार्यक्रममा पर्वतको फलामखानी उत्खनन् र माटेमा रहेको स्टेल ढुंगाखानी, कुस्माबजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइमबिङ, हेलिकप्टर, अल्ट्राइट जस्ता साहसिक पर्यटनका थप पूर्वाधार र होटल रिर्सोटमा लगानी, पर्यटकीय क्षेत्रमा केबलकार बनाउने, लप्सी प्रशोधनका ठूलो उद्योग सञ्चालन गर्ने र कालीगण्डकी र मोदीखोलामा थप जलविद्युत् आयोजनाको विकासका लागि लगानीको खोजी गर्ने उद्देश्य राखिएको छ।

पर्वत जिल्ला पोखराबाट नजिक रहेको, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण उद्योगहरुको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँ–नयाँ गन्तब्यको विकास गर्न सकिने सम्भावना छ।

पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशीला क्षेत्र र कालीगण्डकी किनारमा धेरै पर्यटकीय सम्भावना भएकाले साहसिक र धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। यसबाहेक लगानीका अध्यक्ष क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासनसमेत आउने विश्वास लिएको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्