आर्थिक विकासका लागि वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं।

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक विकासका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नभएको भन्दै वैदेशिक स्रोतको आवश्यकता भएको बताउनुभएको छ।

अर्थ मन्त्रालयमा बुधबार स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्यान्डका पूर्वराजदूत जर्ग फ्रिडेन नेतृत्वको टोलीसँगको भेटवार्तामा उहाँले औद्योगिक तथा पूर्वाधार विकासका लागि सबै प्रकारको वैदेशिक स्रोत आवश्यक पर्ने बताउनुभयो।

नेपालको विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा टोलीलाई जानकारी गराउँदै उहाँले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, च्यालेन्ज फन्डको शुरूवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानुन निर्माण गरिएको र विद्यमान कानुनको परिमार्जन गर्न लागिएको बताउनुभयो।

उहाँले पूर्वाधारको विकास गरी पर्यटन र ऊर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने उल्लेख गर्नुभयो। मुलुकको समग्र विकासका लागि नवप्रवर्तन अन्वेषण तथा युवा लक्षित सीप र प्रविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको स्पस्ट पार्नुभयो।

विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालनमार्फत नेपालले सहकार्य गर्न चाहेको बताउँदै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताउनुभयो।

फ्रिडेनको नेतृत्व टोलीले अर्थमन्त्री डा. खतिवडासमक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरेका छन्।

सो भेटमा नेपालका लागि स्वीस राजदूत र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केट्सका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। टोलीले विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँग भेट गरी विकास प्राथमिकताका विषयमा छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्