‘करका कारण व्यवसाय सञ्चालनमा कठिनाइ’



नेपाल समाचारपत्र, विराटनगर।

नेपाल भ्रमण वर्ष २०२० सुरू भए लगत्तै होटल व्यवसायीले भ्याट र स्थानीय तहले आफूहरूलाई अन्याय भएको बताएका छन्।

विराट होटल व्यवसायी संघका पदाधिकारीले विराटनगरमा होटल सञ्चालनमा कठिनाइ भएको बताएका हुन्।

शनिबार सुन्दरहरैंचामा संघको दोस्रो साधारणसभाका क्रममा संघका अध्यक्ष विजयराज प्रसाईले भ्रमण वर्षलाई सफल बनाउन ब्यवसायी लागिरहेका बेला विराटनगर महानगरले बेलुका ९ बजेनै होटल बन्द गर्नु पर्ने जनाएको बताउनुभयो।

‘बेलुका ६ देखि ९ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न पाइने भनिएको छ, हामी होटलमा दूध बेचेर बस्ने ?’ उहाँले प्रश्न गर्नुभयो। आफूहरूले होटल दर्ताका क्रममा राति १० बजेसम्म सञ्चालनको अनुमति पाएको बताउनुभयो।

संघका महासचिव महेन्द्र ढुङ्गानाले आन्तरिक राजस्व कार्यालयले गत वर्षको तुलनामा दोब्बर बढी राजश्व लिएको बताउनुभयो। सरकारी निकायको निशानामा होटलहरू रहेको उहाँको भनाइ छ।

प्रदेश होटल संघका अध्यक्ष मणिन्द्र कटुवालले व्यवसायीलाई एक भएर समस्याको सामना गर्न आग्रह गर्नुभयो।पर्यटन व्यवसायीहरू राजन श्रेष्ठ, भविश श्रेष्ठ, रबिन गौतम लगायतले भ्रमण वर्षलाई असर गर्ने गरी होटललाई कडाइ नगर्न सरकारलाई आग्रह गर्नुभयो।

संघको तीन वर्षे कार्यकालका लागि प्रसाईकै अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ।

वरिष्ठ उपाध्यक्षमा पदम श्रेष्ठ, उपाध्यक्षमा देवराज ढुङ्गाना, महासचिवमा महेन्द्र ढुङ्गाना, सचिवमा दिलकुमार सुवेदी, कोषाध्यक्षमा उमेश तुलाधर चयन हुनुभएको छ।

लज सञ्चालन गर्ने होटललाई मात्रै सदस्य बनाएको विराट होटल व्यवसायी संघले विधान संशोधन गरेर होटलका नाममा दर्ता भएका सबैलाई समेट्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्