प्रहरीमा आधा दरबन्दी खाली



मोतीराम तिमल्सिना,महाभारत, काभ्रेपलाञ्चोक।

नागरिकलाई सेवा दिन २४ सै घण्टा सेवामा खटिएको प्रहरी आफै सञ्चार सम्पर्क विच्छेद हुनुपरेको छ। महिलाहरूले मादक पदार्थ सेवन गरी झगडा गर्दा पक्राउ गरी ल्याउन प्रहरी चौकीमा महिला प्रहरीसमेत छैनन्।

जिल्लामा ६ सयभन्दा धेरै दरबन्दी रहेको भए पनि ३ सय ५० भन्दा कम प्रहरी कार्यरत छन्। प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालका अनुसारका दरबन्दी अपुग भएका कारण चौकीहरूमा पर्याप्त जनशक्ति उपलब्ध गराउन सकिएको छैन।

विकट क्षेत्रका प्रहरी चौकीमा भौगोलिक अवस्थाका कारण सञ्चार सम्पर्क विच्छेद हुनुपरेको हो। महाभारत क्षेत्रका प्रहरी चौकीमा प्रहरी महिला हुँदा हिंसाका घटनामा वृद्धि भएको स्थानीयले बताएका छन्।

मोबाइल नेटवर्कसमेत उपलब्ध नहुने डाँडापारि क्षेत्रका केही क्षेत्रमा प्रहरीका चौकीहरू छन्। प्रहरी चौकीहरू आफै सम्पर्कका लागि मोबाइलको टावर खोजिरहेका हुन्छन्।

जिल्लामा हुने गतिविधि होस् वा अन्य कुनै अप्रेसनमा समेत सहज सम्पर्क हुन सक्दैन। प्रहरी चौकी गोकुलेमा प्रविधिअनुसारको इन्टरनेट उपलब्ध छैन। कम्प्युटर पनि नहुँदा आवश्यक कार्य गर्न समस्या भइरहेको प्रहरी चौकी गोकुलेका इन्चार्ज विनोद बोगटीले बताउनुभयो।

इलाका प्रहरी कार्यालय बनखुमा स्थापना भएपछि गोकुलेलाई ‘ख’ स्तरको इलाका प्रहरी कार्यालय बनाए पनि आवश्यक जनशक्ति, पूर्वाधार र प्रविधिमैत्री सामानहरू नहुँदा नागरिकलाई सेवा प्रभावमा कठिनाइ भएको असई बोगटीले बताउनुभयो।

चालू वर्षमा नै सम्पन्न गर्ने गरी भवन निर्माणको कार्य शुरू भएको छ। तर पनि जनशक्ति पर्याप्त हुन नसक्दा घटनामा समेत प्रहरीले आफ्नो उपस्थिति जनाउन सकेको छैन।

महाभारतका विभिन्न क्षेत्रमा महिला हिंसाका घटना भइरहेका छन्। अझ धेरै महिलाहरू आफै मादक पदार्थ सेवनपछि झगडा गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न सकेको छैन। महिलालाई पक्राउ गर्न प्रहरी चौकी गोकुलेमा महिला प्रहरी नै छैनन्।

गोकुले प्रहरी चौकीले महाभारत गाउँपालिकाका १, २ र ८ वडालाई कार्यक्षेत्र बनाएर नागरिकलाई सुरक्षा प्रदान गरिरहेको छ। ‘महिला हिंसासम्बन्धी घटना धेरै छन्, महिला आफै पनि मापसे गर्छन् र झगडा हुन्छ’, असई विनोद बोगटीले भन्नुभयो– ‘भवन निर्माणपछि आवश्यक दरबन्दी उपलब्ध हुनेछ।’

प्रविधिको भरपुर उपयोग गर्ने समयमा प्रहरीले इन्टरनेटको उपयोग गर्न सकेको छैन। मोबाइलमा डाटासमेत नचल्दा प्रहरीले दिने आदेशसमेत कार्यान्वयनमा जटिलता छ। प्रहरी आफ्नै पनि सञ्चार सेटमा सम्पर्क हुन सक्दैन।

ग्रामीण भेगमा सुरक्षामा खटिन मोटरसाइकलसमेत छैन। एक स्थानबाट अर्काे स्थानसम्म पुग्न एक दिनसम्म लाग्ने भौगोलिक अवस्था छ। सडक निर्माण भए पनि सवारी साधन नहुँदा प्रहरीलाई थप संकट निम्तिएको छ।

प्रतिक्रिया दिनुहोस्