शेयर बजार झण्डै एक वर्ष अघिको स्थितिमा



नेपाल समाचारपत्र, काठमाडौं।

शेयर बजारमा वृद्धि कायमै रहँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार २६ अंकको वृद्धि भई नेप्से परिसूचक १३१० दशमलब २३ अंकमा पुगेपछि आठ महिना अघिको स्थितिमा पुगेको हो।

बजारमा तरलताको स्थिति सुधार हुनुका साथै शेयर धितो कर्जामा सहजता थपिएसँगै ठूला लगानीकर्ता बजारमा सक्रिय हुन थालेका छन्। जसले गर्दा विगतमा एक दुई साताको कुल कारोबार रकम जोड्दा बराबरको अहिले एकै दिन कारोबार हुन थालेको छ।

वर्तमान सरकारको गठनसँगै शेयर बजारप्रति नकारात्मक टिप्पणी हुँदा नेप्सेमा गिरावट शुरु भएको थियो। अहिले राजनीतिक परिस्थिति परिवर्तन हुँदै जानुका साथै अर्थतन्त्रमा पनि केही सुधारका संकेत देखि थालेपछि शेयर बजारमा त्यसको सकरात्मक प्रभाव पर्न थालेको लगानीकर्ताको भनाइ छ।

बिहीबार कुल १८१ कम्पनीको ५० लाख २५ हजार कित्ता शेयर १ अर्ब ६९ करोड ९९ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।बिहीबार कारोबारमा आएका १२ समूहमध्ये अन्य समूहको मात्रै परिसूचकमा गिरावट आएको छ।

अन्य समूह १ दशमलब ७ अंकले गिरावट आउँदा बैंकिङ समूह १९ दशमलब ३८ अंक, व्यापार समूह २८ दशमलब ५९ अंक, होटल समूह ७४ दशमलब ५५ अंकले बढेको छ।

त्यस्तै विकास बैंक समूह ४१ दशमलब ८४ अंक, जलविद्युत् समूह ७ दशमलब ९७ अंक, वित्त समूह २६ दशमलब ५५ अंक, निर्जीवन बीमा समूह १२५ दशमलब ७१ अंक, उत्पादन समूह ९७ दशमलब ३१ अंक, लघुवित्त समूह ७६ दशमलब १८ अंक, जीवन बीमा समूह २४२ दशमलब ५८ अंक र सामूहिक लगानी कोष शून्य दशमलब ३२ अंकले बढेको छ।

कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १४ करोड ३८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

यस्तै शिवम् सिमेन्टको १३ करोड ५९ लाख, एनआईसी एसिया बैंकको ६ करोड ८३ लाख १६, प्रभु बैंकको ४ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाख, नेपाल बैंकको ४ करोड २६ लाख, कुमारी बैंकको ४ करोड २ लाख रुपियाँको शेयर किनबेच भएको छ।

बिहीबार एक दर्जन कम्पनीको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन नबिल प्रगति फन्ड, मल्टिपर्पोज फाइनान्स, आईसीएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, तिनाउ मिसन डेभलपमेन्ट बैंक, नेसनल लघुवित्त, इन्फिनिटी लघुवित्त, आशा लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त कम्पनीको शेयर उच्च मूल्य वृद्धि हुँदा सर्किट लागेको हो।

कुनै कम्पनीको शेयर मूल्यमा एक दिनमा १० प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने गरेको छ।
समग्र परिसूचकमा दोहोरो अंकको वृद्धि हुँदा महिला सहयात्रा माइक्रोफाइनान्स, अरूण काबेली पावर, नेसनल हाइड्रोपावरलगायतका कम्पनीका शेयरधनीले भने गुमाएका छन्।

यस दिन कारोबारमा आएका १८१ कम्पनीमा १५४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ। बाँकी १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

शेयर मूल्य वृद्धि हुने कम्पनीमा अधिकांश लघुवित्त कम्पनी रहेका छन्। त्यस्तै बिहीबार सेन्सेटिभ परिसूचक पनि ३ दशमलब ९० प्रतिशतले वृद्धि भई २८२ दशमलब ८७ बिन्दुमा पुगेको छ।

विश्व शेयर बजारमा पनि उच्च वृद्धि

अमेरिका र चीनबीचको व्यापार युद्धलाई मत्थर बनाउनका लागि दुई देशबीच भएको सम्झौताको प्रभाव विश्व शेयर बजारमा परेको छ।

अमेरिका र चीनबीच नयाँ सम्झौताको समाचार सार्वजनिक भएसँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव पर्ने क्रममा भारतका दुई शेयर सूचकमा उच्च वृद्धि हुँदै नयाँ रेकर्ड कायम गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

समाचार एजेन्सीहरूका अनुसार भारतको शेयर सूचक सेसेंक्सले ४१ हजार ८४४ बिन्दु पार गरेको छ भने निफ्टी १२ हजार ३३२ पार गरेको छ।

भारतको दुवै सूचक पहिलोपटक उच्च बिन्दुमा पुगेको बताइएको छ। त्यस्तै र जापानको निक्केई इन्डेक्स शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने एसियाका अन्य सूचक पनि उच्च रुपले बढेको छ।

अमेरिका र चीनबीचको व्यापार युद्ध कम गर्नका निम्ति भएको सम्झौतामा चीनले आफू कहाँ हुने अमेरिकी निर्यातलाई सन् २०१७ को अवस्थाभन्दा बढी, २०० अर्ब डलरसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ।

त्यसमध्ये कृषि उत्पादन क्षेत्रमा ३२ अर्ब, उत्पादन क्षेत्रमा ७८ अर्ब, ऊर्जा क्षेत्रमा ५२ अर्ब र सेवा क्षेत्रमा ३८ अर्ब डलरले खरिदको मात्रामा वृद्धि गर्ने पर्दछन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीका अनुसार चीनले नक्कल गरेर तयार पारिने वस्तुको उत्पादनविरुद्ध थप कडा कदम चाल्ने र त्यस्ता कम्पनीलाई व्यापारिक गोपनीयताको चोरीविरुद्ध कानुनी कारबाही अघि बढाउन सहज तुल्याउने पनि सहमति जनाएको छ।

अमेरिकाले अनुमानित ३६० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा २५ प्रतिशतसम्म करको दर कायम राख्नेछ।

प्रतिक्रिया दिनुहोस्