भन्सार छली गर्नेविरुद्ध मुद्दा दायर



नेपाल समाचारपत्र, काठमाडौं।

भन्सार छली गर्ने दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।रुपन्देही जिल्ला सम्मरीमाई–१ स्थायी घर भएका श्रुती ट्रेडर्सका सञ्चालक आशिष गुप्ता र गुप्तासँग कारोबार गर्ने सन्नी गुप्ताविरुद्ध विभागले आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो।

उनीहरूमाथि भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएका विभागले जनाएको छ। विभागका अनुसार उनीहरूविरुद्ध ४९ करोड ६५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गर्दै विभागले मुद्दा दायर गरेको हो।

श्रुती ट्रेडर्सका सञ्चालक गुप्ता र उक्त फर्मका मुख्य कारोबारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने विभागले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

यसैगरी ट्रेडर्सले मालवस्तु बिना बिलबिजक बिक्री गर्ने तथा मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत आरोप पत्रमा भनिएको छ। बिल बिजक जारी नगरी माल सामान बिक्री गरी नेपाल सरकारलाई बुझाउनु पर्ने आयकर चुहावट गरी राजस्व छली गरेको विभागको दाबी छ।

प्रतिक्रिया दिनुहोस्