ग्रामीण विकास लघुवित्तको ३२ करोड मुनाफा



????????????????????????????????????

बुटवल, (नेस) ।

ग्रामीण विकास लघुवित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ३२ करोड ११ लाख ६५ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ। संस्थाको शनिबार भएको पाँचौ साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मणिकरत्न शाक्यले लघु कर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा उपलब्ध गराउँदै आएको संस्थाले देशका सातै प्रदेशका १८८ इलाका र शाखा कार्यालयमार्फत ३६३ स्थानीय तहमा सेवा सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो।

त्यस अवधिमा संस्थाले लगानीमा रहेको बाँकी कर्जा ९ अर्ब ९० करोड र बचत परिचालन ३ अर्ब २३ करोड रहेको जानकारी गराउँदै अध्यक्ष शाक्यले गत वर्षको तुलनामा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले वृद्धि भएको विवरण पेश गर्नुभयो।

साधारण सभामा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले गरिबी न्यूनीकरण गर्ने अभियानमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भइरहेको, हकप्रद शेयर जारी गरेपश्चात हाल संस्थाको जारी तथा चुक्ता पुँजी, ९८ करोड २५ लाख पुगेको र पुँजी वृद्धिसंँगै संस्थाको पुँजीकोष थप मजबुत भएको जानकारी गराउनुभयो।

नेपालमा ग्रामीण बैकिङ अवधारणामा लघुवित्तको कार्य गर्ने साविकका क्षेत्रीयस्तरका पाँचवटा ग्रामीण विकास बैंक मर्ज भई बनेको राष्ट्रियस्तरको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले विपन्न तथा महिलाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गर्न विभिन्न प्रकारका लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।

साधारण सभाले हाल कायम रहेको अधिकृत पुँजी १ अर्बमा वृद्धि गरी २ अर्ब पु¥याउने तथा र अन्य उपयुक्त कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका लागि आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको कम्पनी सचिव दीपकप्रसाद पाण्डेले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्