नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा



दुर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वतको देउपुर देखि कास्कीको लेखनाथ सम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाईनमा पर्ने न्यु मोदी र लाहाचोक सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । मोदीगाउँ पालिका वडा नं २ देउपुर स्थित न्यु मोदी सबस्टेशन र माछापुच्छ«े गाउँपालिका वडा नं १ लाहाचोक स्थित सबस्टेसनको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सकिएको हो ।

न्यु मोदी –लेखनाथ प्रसारण लाईन आयोजनाले दिएको जानकारी अनुसार न्यु मोदी सबस्टेशनको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी पुरा भएको छ भने लाहाचोक सबस्टेशनको निर्माण कार्य ८५ प्रतिशत भन्दा बढी पुरा भएको छ ।

पर्वतको मोदी गाउँपालिकाको देउपुरमा निर्माण भएको १३२ केभी क्षमताको न्यु मोदी सबस्टेशनमा सिभिल तर्फको निर्माण कार्य भने ९५ प्रतिशत पुरा भएको छ । देउपुरमा ६३ रोपनी क्षेत्रफलमा सबस्टेशन निर्माण भएको छ । कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँच मार्गको काम अन्तिम चरणमा छन । इलेक्ट्रिक तर्फको निर्माण कार्य पनि ७५ प्रतिशत भन्दा बढी छ ।

‘सिभिल तर्फको फिनिसिङ्ग मात्रै बाँकी छ’ आयोजना प्रमुख रोशन अग्रवालले भन्नुभयो ‘इलेक्ट्रिक्स तर्फ मेसिन जडानको काम भैरहेको छ।’ अब तीन महिना भित्र सबस्टेशनको काम सबै सम्पन्न हुने उहाँको भनाई छ।

पातीखोलाको कटान रोक्न समुदायको माग अनुसार आयोजनाले पातीखोला नियन्त्रणको काम सम्पन्न गरेको छ । ३ करोड ७५ लाख रुपैंयाको लागतमा ८ हजार ५ सय घनमिटर तारजाली बुनिएको छ । यसले पातीचौर हुँदै देउपुर जाने सडक र पातीचौर बजारलाई सुरक्षा दिने काम गरेको छ ।

यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माण हुँदै गरेको लाहाचोक सबस्टेशनमा आवास गृह प्रयोगमा आइसकेको छ भने कन्ट्रोल भवन, स्विचयार्डको निर्माण कार्य सकिएको छ । ट्रान्सफर्मर जडान र केही सामान्य काम मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

कास्कीको बिजयपुर खोलामा पुलको समस्याका कारण ट्रान्सफर्मर लेखनाथमै रोकिएको आयोजना प्रमुख अग्रवालले जानकारी दिनुभयो ।

पर्वत कास्कीको सिमा भएर भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने बिद्युत आयोजनाहरुबाट उत्पादित बिद्युतलाई पोखरास्थि सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ प्रसारण लाईन निर्माण भएको हो ।

पर्वतको मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन ।

२ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाईन डेढ बर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । प्रसारणलाईन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन । प्रसारण लाईन निर्माण पछि २ सय मेघावट बिद्युत राष्ट्रिय प्रसारण लाईनमा जडान गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्