सडक धमिलो, विज्ञापन उज्यालो



रोशन पराजुली, हेटौंडा।

मकवानपुर बहुमुखी क्याम्पस स्नातकोत्तरमा अध्ययनरत सुदन पहेली भन्नुहुन्छ– ‘राति पढेर घर फर्किनुपर्छ। नगरपालिकाले बत्ती राखे पनि बत्तीको प्रकाशजति विज्ञापन बोर्डले छेकिदिएका छन्।’ ती विज्ञापनले आफूहरूलाई बत्तीको उज्यालो भेट्न मुस्किल हुने पहेलीले गुनासो गर्नुभयो।

केही वर्षयता हेटौंडा बजारका विभिन्न ठाउँमा सौर्यबत्ती तथा विद्युतीय बत्ती जडान गरिएको छ। नगरपालिकाले नै राखेका बत्ती जडान गर्दा बत्तीका पोलहरूमा विज्ञापनका बोर्ड थिएनन्।पछि नगरपालिकाको स्वीकृतिमा विभिन्न कम्पनीले विभिन्न वस्तु तथा सामग्रीको विज्ञापन बोर्ड राखे।

बत्तीको उज्यालो बिस्तारै धमिलो हुँदै गए पनि विज्ञापन बोर्डका बत्ती भने चम्किला छन्। कुनै पनि बोर्डका विज्ञापन सचेतनामूलक छैनन्, मात्र व्यापारिक छन्।केही सयमअघिको कुरा हो। हेटौंडा नगरपालिकाले मापदण्डविपरीतका विज्ञापन बोर्ड राख्न कडाइ गरिने निर्णय गरेको थियो।

तर उक्त निर्णयबारे नियमन नगर्दा नगरभित्र विज्ञापन बोर्ड छ्याप्छ्याप्ती देखिएका छन्। नगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापाका अनुसार विद्युत् र टेलिफोनलगायत पोलमा अनधिकृतढंगले राखिएका सबै प्रकारका बोर्ड हटाइने छ। उहाँका अनुसार डिजिटल होर्डिङ बोर्ड धेरैजसो करको दायरमा छन्।

‘करको दायरामा नआएकालाई कारबाहीसँगै दायरामा ल्याउन टोली बनाएर खटाउने तयारीमा छौं,’ थापाले भन्नुभयो।हेटौंडाका मुख्य बजार क्षेत्रका प्रत्येक पोलमा स्वरुप नै बिगार्ने गरी विज्ञापन बोर्ड टाँगिएका छन्।

विभिन्न किसिमका होर्डिङबोर्ड, साइनबोर्ड, ग्लोसाइन बोर्ड, कम्पनीका प्रायोजन बोर्ड र पोलमा ब्यानर टाँगिदा व्यबस्थित, मर्यादित, सुरक्षित एवम् सहरी सौन्दर्ययुक्त बनाउन नगरपालिकाले भनेको छ।

तर, त्यस्ता विज्ञापन हेटौंडा क्षेत्रमा नदेखिएको थापाकै भनाइ छ।थापाका अनुसार अनावश्यक ठाउँमा टाँगिएका विज्ञापन हटाइएको छ र हटाउने क्रम जारी राखिएको छ। यसका लागि दैनिकरुपमा बजारमा खटिने उहाँले दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्