काभ्रेमा २ सय ४ वटा विद्यालय पुनर्निर्माण सम्पन्न



मोतीराम तिमल्सिना, काभ्रे । 

भुकम्प पछि क्षति भएका २ सय ४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । गैरसरकारी संस्था, एशियाली विकास बैक र विद्यालय ब्यवस्थापन समिति मार्फत जिल्लामा निर्माण भएका विद्यालयहरु समुदायलाई हस्तान्तरण गरिएको छ । जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालय मध्ये ३ सय ५३ पूर्ण र १ सय ७४ विद्यालय अधिक क्षति भएका थिए ।

‘विद्यालय पुनर्निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको छ’–जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख द्धारिका पोखरेलले भन्नुभयो–‘तोकिए भन्दा अगावै सम्पुर्ण विद्यालय निर्माण सम्पन्न गर्ने गरी कार्य भईरहेको छ ।’ बिद्यालय पुनःर्निर्माण सम्बन्धी पुस्तक विमोचन तथा निर्माण कार्य सम्पन्न विद्यालयहरुलाई एक कार्यक्रमका बीच धुलिखेलमा आयोजना कार्यान्वयन इकाईले प्रमाणपत्र वितरण गरेको छ । विद्यालय ब्यवस्थापन समिति मार्फत निर्माण भएका २ सय २२ विद्यालय मध्ये १ सय ७६ वटाको निर्माण कार्य सम्पन्न भई १ सय ३३ वटा विद्यालयलाई एकै पटक प्रमाणपत्र वितरण गरिएको हो । इन्जिनियर सोभित श्रेष्ठले निर्माण सम्पन्न हुँदै गरेका विद्यालयहरु द्रुत गतिमा निर्माण हुने बताउनु भयो ।

चौथो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले धुलिखेलमा निर्माण सम्पन्न भएका विद्यालयका शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई जम्मा गरी भौतिक संरचनाको संरक्षण, समुदायको दायित्व र गुणस्तरीय शिक्षा प्रदान गर्न आईपर्ने चुनौती सामना गर्न भुकम्प प्रतिरोधात्मक भवनहरुले पुर्‍याउने योगदानका बारेमा चर्चा गरेका थिए । जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १ सय ७६ वटा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत २८ वटा बिद्यालय निर्माण सम्पन्न भएको प्रमुख पोखरेलले बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौड्याल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, आयोजनाका उपनिर्देशक दिलिप शेखर श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाई(नीजी आवास)का प्रमुख सागरमणी आचार्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बिद्यालय निर्माण पछि त्यसको ब्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भएको थियो । निर्माण सम्पन्न भए पनि भौगालिक विकटता, यातायातको असुविधा लगायतका कारण बिद्यालयलाई हस्तान्तरण गर्न नसकिएका १ सय ३३ बिद्यालय भवनको प्रमाणपत्र हस्तान्तरण गरिएको इन्जिनियर सोभित श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा ६८ बिद्यालय भवन बनाउन सम्झौता भएकामा ६५ सम्पन्न भएका छन । त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा ७० वटा निर्माण गर्ने सम्झौता भएकामा ५८ वटा सम्पन्न भएका छन । आर्थिक बर्ष ०७५/०७६ मा ८४ बिद्यालय भवन निर्माणका लागि सम्झौता भएकोमा ४८ निर्माण सम्पन्न भएका छन ।

१४ माध्यमिक र १४ प्राथमिक बिद्यालय भवन एसियाली विकास बैकको ऋण सहयोगमा सम्पन्न भएका थिए । त्यस्तै एडिबीको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वनय इकाई (शिक्षा) ले विपद् व्यवस्थापन बिद्यालय परियोजना मार्फत १९ बिद्यालयको निर्माण सुरु भएको छ । भारत सरकारको सहयोगमा १० वटा बिद्यालय निर्माण सुरु हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्