नेपालमा भारतीय लगानी बढाउन पहल हुने



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल उद्योग परिसंघका पदाधिकारी तथा नेपालका लागि भारतका चार्ज डे अफेयर्स डा. अजय कुमारबीच छलफल भएको छ। छलफलका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा भारतीय लगानी बढाउन दूतावास तथा परिसंघ मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो।

उहाँले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्ष्यमा भारतबाट लगानीकर्तालाई नेपाल ल्याउन दूतावासलाई आग्रह गर्नु भएको थियो। त्यस्तै अध्यक्ष मोरले नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गर्नु भएको थियो।

चार्ज डे अफेयर्स डा. अजय कुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तीव्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरूलाई सरलीकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताउनु भएको थियो।

विराटनगरमा आईसीपी निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउँदै भारत नेपालमा लगानी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न सधैंं तयार रहेको जनाउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्