निर्माणाधीन सडकमा अप्टिकल फाइबर नेटवर्कको डक्टहरू बिछ्याइने



काठमाडौं, (नेस) ।

नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ।
उक्त समझदारी पत्रमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गर्नुभयो।

सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पुर्याइरहको अवस्थामा नेपाल टेलिकम र सडक विभागबीच समन्वय र सहकार्य आवश्यक देखिएको हो।

नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरू निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरूमा हानी–नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ।

समझदारीअनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरू बिछ्याइने छ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यकपर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागतअनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निर्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्