एलआईसी नेपालको ‘जीवन बचत’ योजना



काठमाडौं, (नेस)।

‘जीवन बीमासहितको खुशीको बचत, जीवन बचत’ भन्ने सन्देशका साथ एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमा शुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ।

उक्त योजनाको सार्वजनिक अनावरण बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंले गर्नुभयो। १६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिले यो जीवन बीमा योजना लिन सक्नेछन्।

न्यूनतम बीमांक रकम १ लाख कायम गरिएको छ भने अधिकतम बीमांकको सीमा बीमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिन्छ। यस योजनामा बीमा अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ।

बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाङ्क रकम एकमुष्ठ प्रदान गरिनेछ। साथै यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छाअनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको ब्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ।

न्यून बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ। बीमाशुल्क भुक्तानीको १ वर्षपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायी जसले एकल बीमाशुल्क (मुद्दती निक्षेपजस्तै) भुक्तानी गरी जीवन बीमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरूको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने वताउनुभयो।

प्रतिक्रिया दिनुहोस्