बैंकको ब्याजका कारण सरकारले बजार बिग्रन दिन्न : अर्थमन्त्री खतिवडा



भूपराज बस्याल, काठमाडौं।

बैंकको महँगो ब्याजका कारण सरकारले बजार बिग्रन नदिने अर्थमन्त्री युवराज खतिवडाले बताउनु भएको छ। चौथो निर्यात दिवसको अवसर पारेर सोमबार नेपाल निर्यात परिषदले आयोजना गरेको कार्यक्रममा उहाँले बैंकको महँगो ब्याजका कारण नेपालको बजार बिग्रन थालेको व्यावसायीहरूको गुनासोलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा आएको विभिन्न कानूनका कारण व्यावसायीहरू हतोत्साहित हुनु नपर्ने उल्लेख गर्नुभयो। सरकारले अलिकती गल्ती हुने बित्तिकै व्यावसायीहरूलाई कारबाही गर्ने नीति ल्याएको भन्दै उहाँले पहिले नै हतोत्साहित नहुन आग्रह गर्नुभयो।

‘तपाईंहरूकै कारणले देश चलेको छ, त्यसैले यति हतोत्साहित हुनुपर्दैन। गल्ती नै गर्दिन भनेर काम गर्नुस्। यदि काम गर्दै जाँदा गल्ती भएमा कानून बनाएको पनि हामीले हो,’ उहाँले व्यावसायीहरूलाई सम्झाउदै भन्नुभयो।

सामाजिक सुरक्षाले उत्पादित सामानको मूल्य बढेको गुनासो प्रति सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षाका कारण मुल्य बढेको सरकार मान्न तयार नभएको बताउनुभयो।

‘अरू केही कारण हुन सक्छ तर सामाजिक सुरक्षाका कारण उत्पादित मुल्य बढ्यो भन्ने कुरामा सरकार सहमत हुन सक्दैन,’ उहाँले थप्नुभयो, ‘व्यावसायीको कार्यक्रम गयो कामदार पाइएन भन्ने गुनासो आउँछ। देशमा बेरोजगार भएर युवा बिदेश जानुपरेको छ।’

कार्यक्रममा व्यावसायीले उत्पादन गर्ने रोजगार र नेपालको श्रम बजार मेल खान नसकेको भन्दै उहाँले व्यावसायीको ध्यानाकर्षण गराउनुभयो। परिषदको २३ औं साधारणसभा तथा चौथो निर्यात दिवसको अवसरमा आयोजित कार्यक्रम परिषदका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रमण बर्षमा पर्यटकबाट लिनेभन्दा पनि केही दिनुपर्ने धारणा राख्नुभयो। ‘हामीले पर्यटकलाई केही दिन सक्यो भने पर्यटक अलि धेरै बस्न सक्छ पर्यटक धेरै बस्यो भने पक्कै पनि राम्रो सन्देश जान्छ,’ उहाँले भन्नुभयो।

नयाँ कार्यसमिति चयन

यसैबीच नेपाल निर्यात परिषदको २३औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। जसको अध्यक्षमा हरि बहादुर कार्की, प्रथम उपाध्यक्षमा रमेश पोखरेल, उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, महासचिवमा राम शरण थपलिया, सचीवमा कन्हैया लाल शाह, कोषाध्यक्षमा हरी ढकाल, सह कोषाध्यक्षमा राजु बानियाँ र सदस्यहरूमा हरी प्रसाद ढकाल, अमृतमान श्रेष्ठ, बसन्त अधिकारी, हरीप्रसाद भेटवाल र बल बहादुर नेपाली रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्