न्यू बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण अन्तिम चरणमा



नेपाल समाचारपत्र, काठमाडौं।

नवलपरासीको सुनवलमा २२०/१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। दुवै सबस्टेसनको निर्माण आगामी चैत्रभित्र सम्पन्न गरी संचालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

दुवै सबस्टेसन आयोजनाको निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुग्नु भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अवरोध नआएमा तोकिएकै समयमा काम सकिने देखिएको बताउनुभयो।

आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग निर्माण प्रगति, बेहोरिएका समस्या लगायतका बारेमा जानकारी लिंदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन दिनुभयो।

‘सबस्टेसनको जग हालिएको छ, अधिकांश उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने केही आउनेक्रममा छन्, अब उपकरणहरू जडानको काम मात्रै बाँकी देखिन्छ, बाँकी रहेको सिभिल संरचनाको काम सक्न र उपकरण जडानको कामलाई तिब्रता दिनुहोस्’, उहाँले निर्देशन दिंदै भन्नुभयो।

‘निर्माण तोकिएकै समयमा सम्पन्न गर्न देखिएका समस्या समाधान गर्न प्राधिकरणले गर्नुे पर्ने काम र सहजीकरण तदारुकताका साथ गरिदिने छौं।’ मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो।

भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले चैतभित्रमा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ। निर्माणमा अहिले एक सय जनाभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन्।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ।

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ। नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ। करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ।

प्रतिक्रिया दिनुहोस्