धमाधम निकालिँदै उपत्यकाका ‘कुरूप बोर्ड’



भूपराज बस्याल, काठमाडांै।

काठमाडौं महानगरपालिकाले व्यावसायीक होर्डिङ बोर्डहरू धमाधम हटाउन थालेको छ। सोमबार काठमाडौंका विभिन्न भागमा महानगरको ६ टोलीले होर्डिङ बोर्ड हटाएको छ। महानगरलाई सफा बनाउने अभियानअन्तर्गत होर्डिङ बोर्ड हटाइएको हो।

महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेपछि केही व्यवसायीहरू भने आक्रोशित भएका छन्। जमलको मुख्य सडकदेखि भित्र राखिएको बोर्ड महानगरको टोलीले च्यातेर छोडेपछि आरआरश्री स्कूल अफ टेक्नोलोजीकी सञ्चालिका बबिता पुडासैनी निकै आक्रोशित हुनुभयो।

एक लाख खर्चेर बनाएको बोर्डको यस्तो हालत बनाएको भन्दै बोर्डको रकम कसले दिनेभन्ने प्रश्न उहाँले गर्नुभयो। ‘हाम्रै भोट पाएर बनेको सरकार अहिले दमनको नीतिमा अगाडि बढेको छ,’ उहाँले बताउनुभयो।

‘दैनिक पत्रपत्रिका हेरेर बस्न सकिँदैन, कम्तीमा पनि सरकारले पहिले घरमा सूचना टासेर वा घर धनिलाई पत्राचार गरेर बोर्ड निकालेको भए हुने,’ आफ्नो च्यात्तिएको बोर्ड देखाउदै उहाँले भन्नुभयो।

त्यस्तै जमलबाट आफ्नै रेष्टुरेन्टका लागि बनाइएको भित्री बाटोका भित्तामा राखिएको आकर्षक बोर्ड च्यातेर कुरुप बनाएको भन्दै क्याफे डेलाका संचालक नानिराम फुयाँलले सरकार प्रति आक्रोश व्यक्त गर्नुभयो।

‘हामीले मुख्य बाटोमा राखेका छैनौं, आफ्नै रेस्टुरेन्टको लागि मात्रै प्रयोग गरिएको बाटोमा राखेका थियौं,’ कुरुप बनेका भित्ता देखाउदै उहाँले भन्नुभयो, ‘ल आफै हेर्नुस् यी ब्यानर राख्दा कति सुन्दर थियो यो ब्यानर च्यात्तिए पछि कति कुरुप भयो।’

बोर्ड निकाल्नुभन्दा पहिले कम्तीमा पनि पन्ध्र दिनको सूचना टाँस गरेको भए कतिपय व्यावसायीले आफैं बोर्ड निकाल्ने थिए होलान्। नगरपालिकाले राम्रो कामको शुरूवात गरेको भएपनि प्रक्रिया गलत भएको राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनको भनाइ छ। पहिला सम्बन्धित वडाको अध्यक्ष मार्फत सम्बन्धित ब्यक्तिलाई जानकारी दिनुपर्ने हो। तर नगरपालिका आफंै आक्रामक शैलीमा उत्रनु गलत भएको उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्