रेमिट्यान्स ठग्ने पक्राउ



नेपाल समाचारपत्र, हेटौंडा।

वैदेशिक रोजगार(मलेसिया) मा रहेका नेपाली गिरोहसँग मिली नक्कली नागरिकता बनाएर विदेशमा बसेका नेपाली कामदारले घरमा रेमिट्यान्समार्फत् पठाएको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बाराको कलैया बजारमा रहेका विभिन्न मनी ट्रान्सफरबाट विभिन्न समयमा पैसा निकालेका रौतहटको गरुडा नगरपालिका–४ बस्ने सुरेन्द्र साह पक्राउ परेका छन्।

उनले कलैया बजारको भरत चोकमा रहेको शिवम् मनी ट्रान्सफरबाट बाराको आदर्शकोतवाल गापा–६ बस्ने वर्ष ३७ का राजकुमार कुशवाहाको नाममा उनको भाइले मलेसियाबाट पठाएको ९५ हजार २ सय रुपियाँ निकाल्न लाग्दा साह पक्राउ परेका हुन्।

सोधपुछका क्रममा उनले बाराको प्रसौनी गापा–६ बस्ने श्रीरामजी कुशवाहाको नाममा आएको रकम १ लाख मंसिर २३ गते कलैयास्थित एसियन मनी ट्रान्सफरबाट तथा बाराको सिम्रौनगढ नगरपालिका–७ खजानी बस्ने रोशन साहको नाममा आएको ६० हजारसमेत निकालेर ठगी गरेको खुल्न आएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।

उनलाई बारा जिल्ला अदालतबाट ठगी मुद्धामा पहिलो पटक ५ दिन म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्