धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदै



काठमाडौं, (नेस)।

नेपाल धितोपत्र बोर्डको एक अध्यक्षको लागि तीन जनाको नाम सिफारिसमा परेपछि अध्यक्ष चयन गर्ने प्रस्ताव मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्रीपरिषदमा लैजादै हुनुहुन्छ।बोर्डको अध्यक्षका लागि अर्थ मन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।

समितिले गत सोमबार नै भीष्मराज ढुंगाना, निरज गिरी र डा.केशव श्रेष्ठको नाम सिफारिस गरेको थियो। उक्त समितिले गत सोमबार सर्टलिष्टमा परेका पाँच जनाको अन्तरवार्तापछि तीन जनाको नाम सिफारिस गरेको हो।

बोर्डको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले गत मंसिर ६ गते सार्वजनिक सूचना मार्फत आवेदन माग गरेको थियो। अध्यक्षको लागि भीष्मराज ढुंगाना, निरज गिरी, केशव श्रेष्ठ, सिताराम थपलिया, नवराज अधिकारी, नरेन्द्र सिजापति , निल सारु मगर र डा. बलराम पाठकले उमेदवारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्