फरक क्षमता भएका बलबहादुरको दयनीय अवस्था



धनवीर दाहाल, रुकुम।

पुस माघको अत्यन्तै चिसोमा लठ्ठी टेक्दै, हिँड्ने बाटो छाम्दै आफूलाई छाक खोज्न हिँडिरहन्छन् बलबहादुर। हिउँदको समयमा कठ्याङ्रिँदो चिसो तथा वर्षाको समयमा पानीको भेलमा पनि छाक टार्न आफन्तहरू गुहार्नैपर्छ उनलाई। हेर्दा लक्का जवान छन्, केही गर्ने आँट गर्छन् तर संसार देख्ने आँखाले काम गर्दैनन्। ज्ञानको भण्डार त छ तर त्यसलाई उतार्न सक्ने अवस्था छैन बलबहादुरसँग।

चौरजहारी नगरपालिका–१ घारीगाँउ रुकुम पश्चिमका बलबहादुर थापा उमेरले २५ वर्षका भए। आमाबुबा गुमाएका बलबहादुर फरक क्षमता भएका (दुवै आँखा नदेख्ने) तर पढाइमा निकै मेहनती छन्। उनीसँग पढेको प्रमाणपत्र निकाल्नेसमेत रकम छैन। गरिब परिवारमा जन्मेका बलबहादुर गत वर्षसम्म बाबाआमाकै सहारामा थिए।

तर गत वर्षको जेठ महिनामा बुवाको र गत वर्षको पौष महिनामा आमाको मृत्यु भएपछि उनी सहाराविहीन छन्। दुवै आँखा नदेख्ने भएर पनि कक्षा १२ सम्म उत्तीर्ण गरिसकेका बलबहादुर पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावले उच्च शिक्षा अध्ययन गर्न सकेका छैनन्। ‘यतिबेला मलाई खान लगाउन समस्या छ, उनी भन्छन्– ‘पढ्ने इच्छा भएर पनि के गर्नु ?’

उनी कक्षा ८ मा दोस्रो भएका थिए। ‘म राम्रैसँग पढिरहेको थिएँ, उनले भने– ‘आँखा नदेख्ने भनेर विद्यायलयमा धेरै हेपिएँ।’ विद्यालयमा भर्ना गर्न संकेत शिक्षकहरू नमानेको दुखेसो उनले सुनाए। आफन्तको घरमा बस्दै आएका बलबहादुरलाई यतिबेला सहयोगको खाँचो भएको स्थानीय शर्मिला विष्टले बताउनुभयो।

विष्टका अनुसार बलबहादुरलाई दैनिक जोहो गर्नसम्म गाह्रो छ। शितल माध्यामिक विद्यालयबाट १२ उत्तीर्ण गरेपछि उनलाई उत्तीर्ण गरेको प्रमाणपत्र निकाल्नसमेत पैैसा भएन। सोही कारणले प्रमाणपत्रसमेत लिन नसकेको उनको भनाइ छ। आफूलाई उच्च शिक्षा हासिल गर्न मन भएको भए पनि सहारा दिने मान्छे र पैंसा नभएका कारण गर्न नसकेको बलबहादुरले बताए।

आफूलाई लोकसेवा पढ्ने इच्छा भएको समेत उनले बताए। ‘म यो देशको सेवा गर्न सक्छु तर त्यसका लागि के गर्नुपर्छ भन्ने मेरो न अभिभावक छ, न त मसँग आफैं गर्नलाई संसार देखाउने आँखा छन्।’ यो बलबहादुरको पीडा हो। राज्यबाट पाउने कुनै सुविधासम्म उनले पाएका छैनन्। स्थानीय शर्मिला भन्नुहुन्छ– ‘बलबहादुरका लागि राज्यले सानो भए पनि सहयोग ग¥यो भने उनको भविष्य बन्ने थियो।’

प्रतिक्रिया दिनुहोस्