आमाको खुसी



नारायण खनाल

सानो, किलामा बाँधेको
माइतीको कोसेली
दाम्लोबाट फुकाएर
वनमा लान्छिन मेरी आमा १
चर्दा मुखमा नआउने भुईँ घाँस
चढेर र पुगेर खान नसक्ने
एक दुईवटा चौतारि
खवरेटा र ऐसेलुका बोट भएको
उराठ लाग्दो नाङ्गो वनमा
एक्लै अवाक बन्छ
मेरी आमाको माइतीको पाहुर
मे मे गर्छ,लुतपुताउँछ आमासँग
मकैका दुईवटा दाना दिई
चर्न जा भनेर, हप्काउँछिन मेरी आमा १
अनि हेर्छिन, उजाड पखेरी, दुख मान्छिन
त्यही माइतीको कोसेलीको पेट भर्न
आफ्नै भोको पेट
आखिझ्याल बनिसकेको पछ्यौरीले कसेर
डोकोमा चौतारीका काँडा खाँद्छिन
जति ख्वाए पनि दूध नदिने
थारो भैंसीको अनुहार सम्झँदै
आशाका पालुवा मनमा सजाउँदै मुख मिठाउँदै
बैंशमा नै च्याउरे अनुहार बनाउन
विवश मेरी आमा
मुसेखरिको अर्धबैंसे घाँस डोकोमा भर्छिन्
अचम्म रहरालु पानीको बुँद
जो सुतेको बेला
मेरी आमाको कानमा पोखरी बनाउन चाहन्छ
गालामा म्वाई खान चाहन्छ
बिस्तारामा नै पौडाउन चाहन्छ
त्यसैलाई रोक्न
बाँसको दलिन र खम्बाले,टिकेको
म उभिँदा टाउको निहुराइदिने
घरको छानो छाउन
खर जोगाउनु छ मेरी आमालाई
त्यसैले त दिनहुँ मुसेखरीको
खैरो खन्छिन् मेरी आमा १
बाँसका सुपिलाको आगोमा पकाएको
मावलकि हजुरआमाले पठाइदिएको
मकैका काँच्रा पिसेको पिठोको आधा रोटी
माइतीबाटै हर्पेमा ल्याएको खुँदोको सुगन्ध सँग
खान्छिन् र खरो धान्छिन् मेरी आमा १
पेटमा भोकको भुत जागेपछि
आफ्नै घरको सम्पत्तिमा फलेका मकैका बोट
गन्दा पाँच बीस पुर्‍याउन नसक्दा
अवाक् बन्छिन मेरी आमा १
डालोमा मकैको पिठो र
हर्पेमा खुँदोको सुगन्ध हराएपछि पनि
मावलिमा हुर्कँदै गरेको आफ्नो सन्तान र
मजदुरि गर्न परदेश पसेको खसम सम्झेर
निधारबाट बगेका नुनिला पसिना र
आँखाबाट झरेका पिडाका आँसु
जसले गालामा राजमार्ग बनाउँदै
मुखमा पर्छन, त्यही पिएर बाँच्छिन् मेरी आमा १
आफैले पाल्न नसकेर
आफ्नै सन्तान
आफ्नै बा आमाको जिम्मा छोड्नु पर्दा
चिरिएको आमाको मन कुन सुखले
सिलाउन सक्ला र खै ?
कहिलेकाहीँ घरमा आउने सन्तानलाई
आफ्नो हातले पकाएको अमृत खुवाउन
वनमा चिलाउनेको बोट सँग भुरुङ्को भिख
माग्न तयार हुन्छिन मेरी आमा १
दिनहुँ भुरुङ खोजेर सानो कोठिलो भर्न
आतुर आमाको मनको व्याख्या
कुन शब्दले गर्न सक्छ ? शब्दकोष नै अनुत्तरित छ
टीका लगाएर पाएका दक्षिणा,
धेरै आलु खने बापत
पुरस्कार पाएका ठूला आलु र
राम्रो पढेर पाएका कापीकलम
समेत बोकेर घर जाने म
म जाँदा, अगेनामा मकैका बुटी र
बाँसका सुपिलाको आगो
पटकपटक निभेपछि
आफैले जम्मा गरेको भुरुङले
आटो पकाउने विस्वास रहेछ मेरी आमालाई
अगेनामा भुरुङ बलिरहँदा ,
धप्प बलेको मेरी आमाको अनुहार हेर्छु
विस्वासको दिप बलिरहेको हुन्छ
खुसीको सूर्य चम्किरहेको हुन्छ
जब भुरुङको आगोमा आटो फत्कन्छ
आमाका शरीरमा खुसी फत्किन्छ ,
प्रेम छचल्किन्छ,ममता पग्लिन्छ
बलेर ढक्क बनेका भुरुङका कोइलामा
नुन पोलेर मागेको मही सँग मिठो मानेर
आमाछोराले सँगै आटो खाँदाको क्षण
कति आनन्ददायक हुन्छ
खुसीको त्यो क्षण समयले कैद गर्छ गर्दैन
तर त्यही खुसीको प्रकाशले
हृदयमा उज्यालो ल्याइदिन्छ
शरीरका कोषहरूमा ममता भरिदिन्छ
प्रेम छरिदिन्छ
त्यसैले मेरी आमालाई खुसी बनाउने भुरुङ
तिमीलाई मेरो सम्मान छ, नमन छ
साँच्चै हृदय देखि, धन्यवाद छ भुरुङ
मेरी आमाको अनुहारमा खुसी भरिदिएकोमा
धेरै धेरै धन्यवाद भुरुङ,

प्रतिक्रिया दिनुहोस्