एक हप्तादेखि आयोजनाको काम ठप्प



नेपाल समाचारपत्र, इलाम।

निर्माणधीन पुवाखोला–२ जलविद्युत् आयोजनाको निर्माण स्थानीयले एक हप्तादेखि रोकेका छन्। आयोजनाले मुआब्जा र बालीनालीको उचित क्षतिपूर्ति दिन आनाकानी गरेको भन्दै आयोजनाको निर्माण स्थानीयले रोकेका हुन्।

इलामनगरपालिका– १ साँखेजुङमा निर्माणधीन आयोजनाले स्थानीय केही व्यक्तिको जमिनमा बिना जानकारी क्षति पुर्याएको बताइएको छ। शुरुमा ९ मिटर जमिन प्रयोग गर्ने सहमति गरेको आयोजनाले १८/१९ मिटर मिटर क्षेत्रफलमा क्षति पुर्याएको स्थानी पर्शुराम घिमिरेले बताउनुभयो।

उहाँका अनुसार आयोजनाले कृषि बाली तथा खानेपानी ट्यांकीमा समेत क्षति पुर्याएको बताउनुभयो। आयोजनाले पेनस्टक पाइप राख्ने नाममा त्यसको आसपासको जमिनमा भएका सिँचाइ योजनामा पनि क्षति पुर्याएको छ।

यसै विषयमा स्थनीयले आयोजनासँंग पटक–पटक जमिनको मूआब्जा र क्षतिपूर्ति माग गर्दा आलटाल गरेपछि बाध्य भएर आयोजनाको काम रोक्नु परेको पीडितकुमार बस्नेतको भनाइ छ। आयोजना शुरु भएको दुई वर्षसम्म पनि आफूलाई मुआब्जा नदिएको पीडितले आरोप लगाएका छन्।

५ मेगावाट क्षमताको उक्त आयोजना गत वर्षबाट शुरु भएको हो। आयोजनाको हाल ६० प्रतिशत काम भने सम्पन्न भइसकेको आयोजना निर्देशक टंक अर्यालले बताउनुभयो। आयोजना ९० करोडको लगानीमा सम्पन्न भइसक्ने बताइएको छ।

अर्यालले प्रभावित क्षेत्रका बासिन्दासँंग आयोजनाले छलफल र सहमति गरेरै काम गरेको दाबी गर्नुभयो। आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई उचित मुआव्जा र क्षतिपूर्ति दिन आयोजना तयार रहेको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्