व्यवहारमा देखिएन छोरीको महत्व १ सय छोरी जन्मँदा १ सय २७ छोरा



नेपाल समाचारपत्र, हेटौंडा।

छोराप्रतिको अतिशय चाहनाबाट विकास हुने छोरीप्रतिको अविश्वास बाबुआमाले उमेर छँदै बुढेसकालमा छोराछोरीमाथि निर्भर हुनुनपर्ने अवस्था सिर्जना गर्दै जाने हो भने हराउने बुझाइ छ। सन्तानमा निर्भर हुनुपर्ने वृद्धावस्थामा छोराले हेर्छ भन्ने सोच राखिएको पाइन्छ।

नेपाली समाजमा बूढा बाबुआमालाई छोराले फालेका र छोरीले पालेका कैयन् उदाहरण भेटिन्छन् पनि। छोरा नपाउँदा स्वर्गको बाटो बन्द हुने भनाइ पनि छ। आफूले राम्रो गर्नसके यही पृथ्वी स्वर्ग हो, अज्ञात स्वर्गको के कुरा गर्नु भन्न पनि छन्।

बुढेसकालमा सहारा एउटा छोरा त जसरी पनि चाहिन्छ भनेर दानदक्षिणा, धर्मकर्म, भाकल गर्नेदेखि २–३ वटासमेत विवाह गर्ने चलन हामीकहाँ छ। बाबुआमाले बुहारीलाई आशीर्वाद दिँदासमेत ‘पुत्रवती भव’ भन्ने गर्दछन्।

छोरा नपाउने महिलालाई ‘पूर्वजन्मको पाप गरेकी, पापिनी भएर अहिले छोरीछोरी पाई’ भन्ने जस्ता अन्य पीडादायी आरोप लगाउने गरेको सुनिन्छ। समाजले नै छोराको महत्वलाई उच्च मानेको हुँदा प्राप्ति गर्न लालयित हुने गरेको पाइन्छ।

छोरी जन्मेपछि छोरा पाउने आशमा कुर्ने संस्कार अशिक्षित र पिछडिएका वर्गमा मात्र नभएर आफूलाई शिक्षित वर्गको श्रेणीमा राख्न रुचाउनेमा पनि देखिन्छ।छोरा पाउन नसके आफू नर्कमा गइने, आफ्नो वंश आफूसँगै समाप्त हुने भन्ने चिन्तै चिन्ताले मानसिक रोगी नै बनेका उदाहरण पनि देखिन्छन्।

छोरी पाए विवाह गरेर अर्काको वंश चलाउन जान्छे, तर छोरा भए आफ्नो वशंलाई फैलाउँछ भन्ने कुराको अत्यन्त भ्रामक संस्कारले हाम्रो दिमागलाई नराम्रोसँग गाँजेको छ।मरेपछि किरिया छोराले नै गर्नुपर्दछ भन्ने भन्ने मानसिकताका कारण पनि अभिभावक छोराको चाहना गर्दछन्।

त्यसैले त अधिकांश नेपालीमा छोराकै चाहना बढी हुने गरेको पाइन्छ। लंैगिक समानता सुनिश्चित गर्न छोरीको महत्वलाई प्रोत्साहन गरिए पनि व्यवहारमा त्यस्तो नभएको पाइन्छ।मकवानपुरमा कृपाले गरेको अनुसन्धानले यस्तो देखाएको हो।

गर्भमा के को भु्रण छ भनेर सहज पत्ता लगाउन सकिने प्रविधि विकास भएपछि छोरा र छोरीको अनुपातमा असन्तुलन आउन थालेको अनुसन्धानको नतिजाले देखाएको छ।कृपाले मकवानपुरलगायत ६ जिल्लामा अनुसन्धान गरेको थियो।

कृपाले गरेको अनुसन्धानमा १ सय छोरी जन्मँदा १ सय २७ जनासम्म छोरा जन्मेको पाइएको हो।नेपालमा गर्भपतन गर्ने अधिकारले कानुनी मान्यता पाएपछि छोरी भएपछि गर्भपतन गर्ने दर बढेको कृपाका अनुसन्धान अधिकृत सुशील नेपालले बताउनुभयो।

कृपाले १ हजार ९ सय ८० आमामा छोराछोरीको चाहनाबारे अनुसन्धान गरेको थियो।अनुसन्धानमा सहभागी ५८ प्रतिशत महिलाले १८ हप्ताको गर्भमै बच्चा छोरा वा छोरी के छ ? भन्ने जानकारी पाउने गरेको पाइएको थियो।

भिडियो एक्सरे सहज गर्न सकिने सुबिधाले लिंगको पहिचान र गर्भपतन बढेको हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीले बताए। छोरीको महत्व धेरै आमाबुबाले अन्तिम समयमा बुझ्ने उनीहरूले भनाइ छ।
मकवानपुरमा पनि अनुसन्धानमा सहभागीले २५ प्रतिशत महिलाले बच्चा जन्मनुअगावै लिंगबारे जानकारी लिने गरेको पाइयो।

मकवानपुरबाट अनुसन्धानमा सहभागी ९३ प्रतिशत महिलाले आफूलाई पतिले छोराका लागि दवाब दिने गरेको बताएका थिए।निसन्तानले पनि धर्मसन्तानका रूपमा ग्रहण गर्दा छोरा नै बढी प्राथमिकतामा पार्ने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताउनुभयो।

विभेदपूर्ण लंैगिक छनोट अन्त्यका लागि अनुगमन तथा मूल्यांकन ढाँचाबारे प्रदेश–३ स्तरीय बैठकमा सहभागीले नीतिनिर्माण तहमा नै यसबारे सवाल उठ्नुपर्ने बताए। कार्यक्रममा परिवार नियोजन संघ चितवन प्रबन्धक मुरारी रैलाले लिंग छनोटका आधारमा गर्भपतन गर्न नपाइने सबाल प्रचारप्रसार गरिनुपर्ने बताउनुभयो।

यसबारे सरकारी तहमा राष्ट्रिय रणनीतिक योजनामा नै यो विषय समेटिनुपर्ने कृपाका निर्देशक आनन्द तामाङले बताउनुभयो। अविवाहित महिलामा जबरजस्ती करणीबाट बसेको गर्भ पनि छोरा भए जन्माउने चाहान राख्ने गरेको सहभागीले बताएका थिए।

प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले अनुसन्धानको नतिजाले नीतिनिर्माण तहलाई झक्झक्याउनुपर्ने बताउनुभयो। छोराको चाहना राख्ने सामाजिक सोचका कारण भोलि देशमा जनसंख्या अनुपात बिगँ्रदा ठूलो समस्या आउने प्रदेशसभा सदस्य श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्