नेपाल बंगलादेश बैंकद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल बंगलादेश बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार कमलादीस्थित आफ्नो प्रधान कार्यालयबाट प्रभातफेरी कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा बैंकका काठमाडौं उपत्यकाभित्र रहेका २१ वटा शाखा र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारी सहभागी भएका थिए। बैंकको प्रधान कार्यालयबाट शुरू भई शहिद गेट, न्युरोड गेट, जुद्ध सालिक हुँदै इन्द्रचोक, असन बजार, जमल, दरबारमार्ग हुँदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो।

सो कार्यक्रममा कर्मचारीहरूले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरू लिएका थिए। कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदालगायत बैंकिङ कारोबारका फाइदाको बारेमा जानकारी दिनुभएको थियो।

साथै उहाँले यस्ता कार्यक्रमले साधारण जनमानसमा वित्तीय साक्षरताबारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिङ कारोबारमा चुस्तता आउने धारणा व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्