भ्रमण वर्ष २०२० जनवरी १ मा किवी महोत्सव



चिरञ्जीवी मास्के, दोलखा।

नेपालमै पहिलोपटक दोलखाबाट पहिचान र व्यवसायिक उत्पादन शुरू भएको किवी फलको प्रवद्र्धनका लागि भीमेश्वर नगरपालिकाले भ्रमण वर्ष–२०२० को पहिलो दिन जनवरी १ मा किवी महोत्सवको आयोजना गर्ने भएको छ।

लामोसाँघु–जिरी सडक निर्माणको क्रममा इन्जिनियरको काम गर्न २०४३ सालतिर दोलखा आएका स्विस नागरिक जेएफ मेस्सीले आफू बसेको चरिकोटस्थित श्याम खड्काको घरमा किवी रोपेका थिए। २०५८/०५९ सालतिर श्याम खड्काले मेस्सीले रोपेको बिरुवामा फलेको ५२ किलो किवी पहिलोपटक काठमाडौंको कालिमाटीमा लगेर १० हजारमा बिक्री गरेका थिए।

त्यसपछि व्यावसायिक उत्पादन शुरू गरिएको किवीखेती अहिले देशको विभिन्न पहाडी तथा हिमाली जिल्लामा समेत विस्तार भएको छ। दोलखाको चरिकोटबाट देशमै पहिलोपटक किवीको पहिचान र व्यावसायिक उत्पादन शुरू भएकाले यसको प्रवद्र्धनका लागि भीमेश्वर नगरपालिकाले सन् २०२० जनवरी १ को दिन सदरमुकाम चरिकोटमा किवी महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख भरत केसीले बताउनुभयो।

एक सातासम्म चल्ने किवी महोत्सवको अवसरमा किवीको स्टल राखिने, किवीको उपयोगिता, उत्पादनको अवस्था आदिका बारेमा चर्चा गरिने, अन्य घरेलु उत्पादनका सामान राखिने, सुन्तलालगायत दोलखामा उत्पादन हुने कृषिजन्य वस्तुको स्टल राखिने र स्ट्रटी फेस्टिवलको समेत आयोजना गरिने नगरप्रमुख केसीले बताउनुभयो।

महोत्सवको अवधिभर सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको सम्मानलगायतका कार्यक्रमसमेत सञ्चालन हुने नगरप्रमुख केसीले बताउनुभयो। किवी महोत्सवको अवधिमा दोलखा आउने पर्यटकलाई चरिकोटको होटलहरूमा आवासका लागि २५ प्रतिशत र खाना, खाजाका लागि १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको नगरप्रमुख केसीले बताउनुभयो।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले किवी महोत्सवमा जिल्लाको अन्य स्थानीय तह र संघ–संस्थाको समेत सक्रिय सहभागिता रहने उल्लेख गर्नुहँुदै भ्रमण वर्ष–२०२० को पहिलो दिन किवी महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो।

यो वर्ष दोलखा जिल्लाबाट किवी ४ करोडभन्दा बढीको बिक्री–वितरण हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ दोलखाका वरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले बताउनुभयो।

किवी फललाई तीन ग्रेडमा विभाजन गरेको पाइन्छ। १ सय ग्रामभन्दा बढीको किवी ए ग्रेड, ७० ग्रामसम्मको किवी बी ग्रेड र ६० भन्दा कम ग्राम तौलको किवी सी ग्रेडमा विभाजन गरिएको वरिष्ठ कृषि विकास अधिकृत खतिवडाले बताउनुभयो। दोलखामा मोन्टी, एलिसन, हेर्वाडलगायतका जातको किवी उत्पादन हुने गरेको खतिवडाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्