साताको अन्तिम दिन पनि बढेन शेयर बजार



काठमाडौं (नेस)।

यस साता शेयर बजारमा निकै नै उतारचढाव भएको छ। आइतबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले बढेको थियो।

त्यस्तै मंगलबार सामान्य अंकले गिरेको परिसूचक बुधबार पनि घट्न पुग्यो। साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावटले नै निरन्तरता पायो।

बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। शून्य दशमलव ६२ अंकले घटेको परिसूचक ११६७ दशमलव ४१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। यसदिन १ सय ७२ कम्पनी कारोबारमा आएका थिए।

कारोबारमा आएका यी कम्पनीहरूको १६ लाख ४१ हजार रुपियाँभन्दा बढी कित्ता शेयर ५८ करोड ८६ लाख रुपियाँभन्दा बढीमा खरिदबिक्री भएको छ।यसदिन केही सिमित समूहहरूको मात्रै कारोबार बढेको छ।

कारोबार बढ्ने समूहहरू बैंकिङ, व्यापार, विकास बैंक र जीवन बीमा समूह छन्। यसदिन कारोबारमा आएका समूहमध्ये व्यापारमा सबैभन्दा बढी कारोबार भएको छ। यी बाहेक अन्य सबै समूहको कारोबार घटेको छ।

कारोबारका आधारमा यसदिन नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी १३ करोड २२ लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री गरेको छ।

कारोबारकै आधारमा एनआइसी एसियाको डिबेन्चर शेयरले ६ करोड १ लाख रुपियाँभन्दा बढीको खरिदबिक्री गर्दै धेरै कारोबार गर्नेमध्ये दोस्रो नम्बरमा परेको छ।

यस्तै कृषि विकास बैंक लिमिटेडले ४ करोड २८ लाख रुपियाँभन्दा बढीको कारोबार गर्दै तेस्रो स्थानमा रहेको छ।यसदिन नेपाल सेव लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी नाफा आर्जन गरेको छ।

यसका लगानीकर्ताहरूले ८ दशमलव ८० प्रतिशतका दरले नाफा पाएका छन्। यस्तै पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले यसदिन सबैभन्दा धेरै गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्