बजारमा फेरि गिरावट



नेपाल समाचारपत्र, काठमाडौं।

आइतबार र सोमबार वृद्धि भएको शेयर बजार मंगलबार भने घट्न पुगेको छ। बजारमा खरिदकर्ताको चाप बढ्दा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ३७ अंकले घट्न गई ११६६ दशमलव २१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

मंगलबार सेन्सेटिभ परिसूचकमा पनि गिरावट आएको छ। यस दिन शून्य दशमलव ३२ अंकले सेन्सेटिभ परिसूचकमा गिरावट आई २५४ दशमलव २१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।

यसदिन कारोबारमा आएका १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर ७२ करोड १६ लाख ४२ हजार रुपियाँभन्दा बढीमा कारोबार भएको नेप्सेले जनाएको छ। परिसूचक घटे पनि कारोबार रकम र शेयर संख्या अघिल्लो दिनको तुलना उच्च हो।

मंगलबार कारोबारमा आएका समूहमध्ये बैंकिङ, व्यापार, फाइनान्स, मुचुअल फन्ड र अन्य समूहबाहेक अन्य सबै समूहको शेयर कारोबारमा गिरावट आएको छ।

होटल, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमालगायत अन्य समूहको शेयर कारोबारमा गिरावट आएको हो। यसदिन कारोबारका आधारमा शिवम् सिमेन्ट लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ।

यस कम्पनीले १० करोड ३३ लाख रुपियाँभन्दा बढीको कारोबार गरेको छ। यस्तै नागरिक लगानी कोष कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ। कोषको शेयर कारोबार ८ करोड ८२ लाख रुपियाँको शेयर किनबेच भएको छ।

त्यस्तै कारोबार रकमकै आधारमा नेपाल बैंक लिमिटेड तेस्रो स्थानमा रहेको छ। यस कम्पनीले ७ करोड ६२ लाख भन्दा बढीको शेयर कारोबार गरेको छ।

यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्। यस कम्पनीको नाफामा ९ दशमलव ८९ प्रतिशतको वृद्धि भएको छ। कञ्चन डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीको कारोबार भएको छ।

मंगलबार आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीले ७ प्रतिशतभन्दा बढीको घाटा व्यहोर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्