नक्कली घ्यु उद्योग चलाउने पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज।

रसायन पदार्थको प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने गिरोह वीरगन्जमा फेला परेको छ।उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घ्यु उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका–१५, ब्रहमचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस् उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले रसायन प्रयोग गरी घ्यु उत्पादन गरेको भेटेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर जानकारी दिनुभयो। घ्युमा कुन रसायन प्रयोग हुँदै आएको थियो भन्ने खुलेको छैन।

एसपी राठौरका अनुसार त्यसरी उत्पादित घ्युमा पूजा, दुर्गा र गोकुल शुद्ध घ्युको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ।
प्रहरीले यसमा संलग्न तीन जनालाई उद्योगबाटै नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। नक्कली घ्युबनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घ्यु र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घ्यु पनि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्