लगानीकर्ताको उत्साह बढ्दा शेयर बजारमा दोहोरो अंकको वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं।

कारोबारको शुरूवाती दिन शेयर बजारमा चमक देखिएको छ। आइतबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार एकाएक दोहोरो अंकले बढ्न पुगेको छ। राजनीतिक हल्लाका कारण शेयर बजारमा प्रभाव परेको एकथरीको विश्लेषण रहेको छ।

तर, तथ्यांकका आधारमा हेर्दा लगानीकर्ताले लाभांश सुरक्षित गर्न खोज्दा परिसूचक वृद्धि हुनाका साथै कारोबार रकममा पनि उल्लेख सुधार देखिएको छ।

सोमबार नेप्से परिसूचक १ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ। १७ दशमलव ७७ अंकले वृद्धि भएको नेप्से परिसूचक ११६८ दशमलव ५८ प्रतिशत अंकमा पुगेर कारोबार बन्द भएको छ।

यसैगरी यस दिन सेन्सेटिभ परिसूचकमा पनि १ दशमलव १७ प्रतिशतको वृद्धि भएको छ। २ दशमलव ९४ अंकले वृद्धि भएको सेन्सेटिभ परिसूचक २५४ दशमलव ५३ अंकमा पुगेर कारोबार बन्द भएको छ।

कुल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३ सय ६३ कित्ता शेयर ५९ करोड ५७ लाख ६४ हजार रुपियाँभन्दा बढीमा कारोबार भएको छ। सोमबार निर्माण तथा उत्पादन समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ। मुचुअल फन्डको शेयर कारोबारमा शून्य दशमलव ९२ प्रतिशतले गिरावट आउँदा निर्माण तथा उत्पादन समूहमा ५ दशमलव ११ प्रतिशतको वृद्धि भएको छ।

यसदिन मुचुअल फन्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। कारोबार भएका १२ समूहमध्ये बैंकिङ ३.३२, व्यापार १५.५७, होटल ४६.९९, विकास बैंक १६.४४, जलविद्युत् ७.७६, वित्त ११.५४, निर्जीवन बीमा १५८.८, उत्पादन ११३.८९, अन्य ३१.६४, लघुवित्त ३०.७४, जीवन बीमा १७०.८८ विन्दुले बढेको छ।

सोमबार कारोबारका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडले सबैभन्दा धेरै शेयर कारोबार गरेको छ। यस कम्पनीले ५ करोड ८५ लाख ६० हजार रुपियाँभन्दा बढीको कारोबार गरेको छ।

यस्तै कारोबारकै आधारमा नबिल बैंक लिमिटेड दोस्रो स्थानमा रहेको छ। यस कम्पनीले ४ करोड ९९ लाख ६८ हजार रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री गरेको छ।

उच्च कारोबार हुने गर्ने कम्पनीमा नेपाल बैंकको ४ करोड ७३ लाख ६५ हजार, एनसीसी बैंकको ३ करोड ७४ लाख, नागरिक लगानी कोषको ३ करोड ४८ लाख, एनएमबि बैंकको ३ करोड १९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

नेप्सेका अनुसार सोमबार सबैभन्दा धेरै नाफा नागरिक लगानी कोषका लगानीकर्ताहरूले कमाएका छन्। कोषको शेयर मूल्य १० प्रतिशतको वृद्धि भएको छ।

त्यस्तै एचआईडीसीएल कम्पनीको ९.९२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.८६, शिवम् सिमेन्ट ९.८६, गुराँस लघुवित्त वित्तीय संस्था ९.८४, सिर्जना फाइनान्स ९.७१ र युनाइटेड इन्स्योरेन्स कम्पनीको ८.५२ प्रतिशतले शेयर मूल्य बढेको छ।

यस्तै सबैभन्दा बढी घाटा बेहोर्ने कम्पनीमा पाँचथर पावर कम्प्यान्ट लिमिटेडका लगानीकर्ताले व्यहोरेका छन्। यस कम्पनीका लगानीकर्ताहरूले ७ प्रतिशतभन्दा बढीको घाटा व्यहोर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्