नबिल बैंकका ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना



काठमाडौं, (नेस)।

नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना सार्वजनिक गरेको छ। कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिङ मोडल कर्जा अंकन ढाँचाका आधारमा यो योजना शुरू गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार सरल र शीघ्र प्रशोधनसहित अधिकतम् १० दशमलव ५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ। साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्स मिलेर सहकार्य गरिरहेका छन्। यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको बैंकले जनाएको छ।

यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको हो।

क्रेडिट स्क्रोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ। यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ।

ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्