‘जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानीय सरकार जिम्मेवार’



नेपाल समाचारपत्र, काठमाडौं।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानीय सरकार जिम्मेवार रहेको दाबी गर्नुभएको छ। स्थानीय सरकारले आफ्नो अधिकारको गलत प्रयोग गरी असुरक्षित संरचना निर्माण गर्न दिइरहेको मन्त्री राईको भनाइ छ।

नागरिक एकता समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले केन्द्र सरकारको नियम कानुनलाई उल्लंघन गरी स्थानीय सरकारले शहरलाई नै असुरक्षित र जोखिमयुक्त बनाउने काम गरिरहेको दाबी गर्नुभयो।

मन्त्री राईले भन्नुभयो–‘भूकम्पपछि संघीय सरकारले भवन सम्बन्धी मापदण्डलाई कडाई गरेको छ। तर, स्थानीय सरकारले केन्द्र सरकारको नियम कानुनलाई अटेर गरि आफ्नो अनुकुल स्वीकृति दिँदा अहिले पनि शहरमा जोखिमयुक्त र असुरक्षित भवन बन्दैछन।

भवन सम्बन्धी मापदण्डको पालनामा नागरिक पनि जिम्मेवार हुनुपर्ने मन्त्री राईको भनाइ छ। उहाँले कतिपय कानुनको अभाव र अधिकार क्षेत्रको बाँडफाँड किटान नभएका कारण पनि स्थानीय सरकारको गलत अभ्यासलाई केन्द्र सरकारले रोक्न नसकेको गुनासो गर्नुभयो।

स्मार्ट सिटी र मेगा सिटीको अवधारणलाई मन्त्रालयले ठोस रुपमा अघि बढाउन लागेको जानकारी उहाँले दिनुभयो। विगतका सरकारले हचुवाको भरमा स्मार्ट सिटी र मेगा सिटी घोषणा गरेका कारण लामो समयसम्म काम अघि बढ्न नसकेको भन्दै मन्त्री राईले निश्चित मापदण्ड र सूचकहरू बनाएर मन्त्रालयले नयाँ शहर विकासको कामलाई तीव्रता दिएको दाबी गर्नुभयो।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले शहरको विकास गर्ने भन्दा पनि घडेरीको विकास गर्ने गलत सोचका कारण समस्या देखिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्