प्रदेश सरकारको नजरमा ‘पाहाखेती’



नेपाल समाचारपत्र, हेटौंडा।
प्रदेश–३ सरकारले पाहा संरक्षण तथा यसको व्यावसायिक खेतीको सम्भावना बारे अध्ययन शुरू गरेको छ। पाहा संरक्षणका लागि मकवानपुरको भीमफेदी र कैलाश गाउँपालिकाका उच्च पहाडी क्षेत्रबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी क्षेत्रको सीमसार तथा खोल्सामा पाहा खोजी गरी यसको संरक्षण र उपयोगमा प्रदेश सरकार लागेको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले जानकारी दिनुभयो। त्यस क्षेत्रमा खोजी गर्दा गाउँपालिका–४ मा १९ वटा पाहा भेटिएको बताइएको छ।

भीमफेदीका ती पाहालाई अध्ययनका लागि चितवनको कठारमा पठाइएको छ। चिसोमा टिक्नसक्ने अनुमानका आधारमा ती पाहा त्यहाँ राखिएका हुन्। अध्ययनको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त माछाविज्ञ प्राडा. माधव श्रेष्ठले गर्नुभएको छ। डा. श्रेष्ठ निजी क्षेत्रमा माछाबारे अध्ययनमा संलग्न हुनुहुन्छ।

त्यहाँ पाहालाई खान माछाका जीवित भुरा र झारपात व्यवस्था गरिएको छ। लेकमा बस्ने जात भएकाले वातावरणलाई चिसो बनाउन प्रयास भएको छ। डा. श्रेष्ठका अनुसार नेपालमा पाहा खाने र औषधिका रूपमा प्रयोग गर्ने चलन भए पनि यसबारे खासै अध्ययन भएको छैन। पाहाको खाना, रहनसहन, प्रजनन्लगायत धेरै कुराको अध्ययन गरिने उहाँले बताउनुभयो।

उहाँको अध्ययन सफल भए प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुरको भीमफेदी र कैलाशलगायत पालिकाका उपयुक्त स्थान छनोट गरेर पाहाको व्यावसायिक पालन गर्ने भएको छ। यसको व्यावसायिक उत्पादन हुनसके नेपालबाट पाहा निर्यातको ढोका खुल्ने विश्वास छ। मन्त्री लामाका अनुसार संकलित पाहा महावीर पुनको आविष्कार केन्द्रमा पनि अनुसन्धानका लागि पठाइएको छ।
हाडजोर्नी दुखाइ, दम, बाथ, रक्तमासी तथा काटिएका अंग जोड्न स्थानीयस्तरमा पाहा खाने चलन रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो। ‘पाहालाई जडीबुटी व्यापारीले प्रतिगोटा एक हजारसम्ममा खरिद गर्ने गरेको पाइएको छ, उहाँले भन्नुभयो– ‘पाहाको मासु थोरै भए पनि पकाउँदा धरै हुने र स्वादिलो हुन्छ।’

पाहा मार्न हुन्न भन्ने सर्वसाधारणलाई थाहा छैन। उनीहरू निष्फिक्री पाहा मारेर खाने गर्छन्। स्थानीयले पाहा विशेषतः असार, साउन र भदौमा मार्ने गर्छन्। पाहा शिकारीका अनुसार पाहा मार्न रातको समयमा उपयुक्त हुन्छ। पाहा ढुंगाको कापबाट रातमा चर्न निस्कन्छ। यसरी बाहिर निस्केको पाहालाई उज्यालो देखायो भने एकनास हेरिरहन्छ। शिकारीले टर्चलाइटको उज्यालो देखाएर पाहालाई सजिलै समाउँछन्।

सामान्यतयाः पाहा मध्ये तथा तल्लो हिमाली क्षेत्रमा पाइन्छ। यो समान्यतयाः भिरालो सीमसार तथा खोलाका ढुंगाको चेपमा बस्छ। यसका विभिन्न गुण छन्। पहाडतिर पहिले औषधिका रूपमा यसको प्रयोग गरिन्थ्यो।

उच्च हिमाली भेगबाट ल्याइएका पाहा गाउँले तँछाड–मछाड गर्दै किन्छन्। एउटा ताजा पाहा गाउँमा राम्रो भाउमा बिक्री हुने गरेको पाइन्छ। बिक्री नभएका पाहा औषधिका लागि ‘सुकुटी’ बनाएर राखिन्छ।

मासुका रूपमा प्रयोग गर्न थालेपछि यसको माग बढेको छ। यसलाई भारतको सिक्किमतिर उफ्रिने कुखुरो (जम्पिङ चिकन) भनिन्छ। यसको मासु लुइँचेको जस्तो स्वादिलो हुने तथा शरीरको भित्री बनावट चराजस्तै हुने भएकाले पाहालाई जम्पिङ चिकन भनिएको मत छ।

भीमफेदीका बुढापाका यसलाई चारखुट्टे पक्षीका रूपमा व्याख्या गर्छन्। उफ्रिँदा गति तथा दिशा परिवर्तन गर्ने भएकाले यसलाई चरिपाहा पनि भनिन्छ।पाहा एक प्रकारको उभयचर प्राणी हो।

नेपालमा ४७ प्रजातिका उभयचर प्राणी पाइनेमध्ये एक हो पाहा। यो झट्ट हेर्दा सामान्य भ्यागुतोजस्तै देखिन्छ। वैज्ञानिकका अनुसार यो प्राणी ६ महिना जमिनको सतहमा बस्छ र ६ महिना जमिनमुनि बस्छ।

प्रतिक्रिया दिनुहोस्