सामाजिक सुरक्षा योजनामा जान बैंकलाई राष्ट्र बैंकको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा तत्काल सामेल हुन निर्देशन दिएको छ। संस्थाहरूले सहभागी हुन आलटाल गरिरहेको अवस्थामा प्रक्रियामा जानका लागि निर्देशन दिइएको हो।

राष्ट्र बैंकलेसूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो। ‘सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु÷गराउनु’, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ।

पटक–पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैंक तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैंकसमक्ष आग्रह गरेको थियो।

सरकारले श्रमिकको भविश्यलाई जोखिमुक्त बनाउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। सरकारले ल्याएको योजनामा असन्तुष्टि जनाउँदै बैंक तथा वित्तीय संस्थाले उक्त प्रक्रियामा सहभागी हुन अटेर गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्