प्रदेश २ मा विद्युत् चुहावटलाई १० प्रतिशतमा झार्ने लक्ष्य



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल विद्युत प्रधिकरणले प्रदेश नं. २ मा रहेको विद्युत् चुहावटलाई १०.९७ प्रतिशतमा झार्ने भएको छ। प्राधिकरणले प्रदेश नं. २ को प्रादेशिक कार्यालय जनकपुरलाई चालू आर्थिक वर्ष २०७६/०७७ मा विद्युत् चुहावटलाई १०.९७ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो।

चालु आवको असोजसम्म प्रादेशिक कार्यालयको औसत विद्युत् चुहावट १९.६१ प्रतिशत छ। प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत प्रदेश नं. २ मा पर्ने ८ जिल्लाका २३ वितरण केन्द्र छन्।

तत्कालीन जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर र सिन्धुलीका वितरण केन्द्रलाई सम्बन्धित प्रदेशका प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ।

तत्कालीन हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका पर्सा, बारा र रौतहट जिल्लास्थित वितरण केन्द्रलाई जनकपुर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ। कार्यालयअन्तर्गतका वितरण केन्द्रहरुको ग्राहक संख्या ८ लाख २४ हजार छ।

तत्कालीन जनकपुर क्षेत्रीय कार्यालयको तीन वर्ष अघि ४७ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७३÷७४, २०७४/७५,२०७५/७६ मा क्रमश ः ३६.५५,३३ र २३ प्रतिशतमा झारिएको छ। विद्युत् बिक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजश्वको करिब २३ प्रतिशत हिस्सा प्रदेशिक कार्यालय जनकपुरले संकलन गर्छ।

कार्यालयअन्तर्गत सबैभन्दा बढी ४६.७६ प्रतिशत विद्युत् चुहावट रहेको धनुषास्थिति यदुकहा वितरण केन्द्रलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ।

त्यसपछि दोस्रो बढी ४४.७० प्रतिशत चुहावट रहेको बाराको कलैया वितरण केन्द्रलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ। ४४.१८ प्रतिशत विद्युत् चुहावट रहेको सिराहाको लाहान वितरण केन्द्रलाई १९.७७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ।

प्राधिकरणले चालू आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो।

प्राधिकरणको व्यवस्थापनले मंगलबार विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस्